
असार – ९
वीरगञ्ज । पर्सा–बारा क्षेत्रका विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल नेशनल कलेजकी छात्रा कुल्सुम खातुनलाई कलेजले विशेष सम्मान गरेको छ।
शैक्षिक उत्कृष्टता प्रदर्शन गर्दै पर्सा–बारा क्षेत्रमै उत्कृष्ट विद्यार्थी बन्न सफल खातुनलाई नेशनल कलेजले एक समारोहबीच एक थान ल्यापटप प्रदान गरी सम्मान गरेको हो। विद्यार्थीको मेहनत, लगनशीलता र उत्कृष्ट उपलब्धिको कदर गर्दै कलेजले उक्त सम्मान प्रदान गरेको गरेको छ।
सम्मान कार्यक्रममा कलेज प्रशासनले कुल्सुम खातुनले हासिल गरेको सफलता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरेको थियो।
ल्यापटप ग्रहण गर्दै खातुनले आफ्नो सफलतामा कलेज, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको बताइन्। उनले निरन्तर अध्ययन र मेहनतका कारण यो उपलब्धि हासिल गर्न सफल भएको प्रतिक्रिया दिइन्।
नेशनल कलेजले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न समयहरूमा पुरस्कार तथा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजको यो कदमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने अपेक्षा गरेको छ।



