खरबुजाको बिउसहित ट्रक र चालक प्रहरीको नियन्त्रणमा

कलैया, बारा, असार ८ — जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा ओसारपसार गरिँदै गरेको ठूलो परिमाणको खरबुजाको बिउ सहित एक ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८३ असार ७ गते राति करिब ८:३० बजे सिम्रौनगढ नगरपालिका–६ स्थित पावर हाउस क्षेत्रमा सिम्रौनगढबाट महागढीमाईतर्फ जाँदै गरेको ना ४ ख ५२४७ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकमा ३४५ बोरा खरबुजाको बिउ लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बिउको अनुमानित मूल्य रु. २२ लाख ९९ हजार २ सय ३३ रहेको छ। अनुसन्धानका क्रममा उक्त खरबुजाको बिउ अवैध रूपमा चोरी निकासी गर्न लागिएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको खरबुजाको बिउ, ट्रक तथा चालकलाई नियन्त्रणमा लिएको छ। ट्रकको अनुमानित मूल्य रु. ३५ लाख रहेको बताइएको छ। यसरी बरामद गरिएको सामान तथा सवारीसाधनको कुल मूल्य रु. ५७ लाख ९९ हजार २ सय ३३ बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेश आलम लाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घले ले अवैध चोरी निकासी तथा राजस्व छली नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जानकारी दिएका छन।




