त्रिवेणी स्पिनिङ मिल्समा भीषण आगलागी, करोडौंको क्षति; करिब ४ घण्टापछि आगो नियन्त्रणमा

बारा, जेष्ठ २२ — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ स्थित रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रा. लि मा शुक्रबार लागेको भीषण आगलागी करिब ४ घण्टाको अथक प्रयासपछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आगलागीका कारण उद्योगमा रहेको कच्चा पदार्थ, तयारी सामग्री, गोदाम तथा केही मेसिनरी उपकरणमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
उद्योग परिसरबाट अचानक धुवाँ र आगोको मुस्लो उठेपछि स्थानीयवासी तथा उद्योग प्रशासनले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए।
आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका वारुणयन्त्र १२ वटा (दमकल) परिचालन भएको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको सक्रिय सहभागिताले आगो अन्य उद्योग तथा बस्तीमा फैलिनबाट जोगिएको छ ।
घटनाको जानकारी प्राप्त लगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर स्वयं घटनास्थलमा पुगेर आगो नियन्त्रण कार्यको नेतृत्व तथा आवश्यक समन्वय गर्नुभएको थियो। उहाँले विभिन्न सुरक्षा निकाय, दमकल र उद्योग व्यवस्थापनबीच समन्वय गर्दै आगो नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनु भएको थियो।
प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उद्योगमा कार्यरत कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय दुर्घटना टरेको बताइएको छ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण अझै संकलन भइरहेको भए पनि करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। उद्योगमा कपास, धागो तथा अन्य ज्वलनशील सामग्री ठूलो परिमाणमा रहेकाले आगो तीव्र गतिमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ। विद्युत् सर्ट, प्राविधिक समस्या वा अन्य कारणमध्ये कुन कारणले आगलागी भएको हो भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।



