प्रदेश खबरराष्ट्रियसमाचार

कुष्ठरोग पहिचान सम्बन्धित सञ्चारकर्मी र सरोकारवाला सङ्ग  बारामा एक दिने अभिमुखिकरण सम्पन्न

न्यूज डेकस

facebook sharing button
पथलैया-  बारा जिल्लाका सरोकारवाला निकायका तथा सञ्चारकर्मीहरु सङ्ग  एक दिने कुष्ठरोग सम्बन्धीत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त अभिमुखीकरण कार्यक्रम  द- लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाकक्षमा  सम्पन्न भएको हो। कार्यक्रममा द- लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अलि मिकरानीले कुष्ठरोगको कारण, लक्षण, उपचार प्रक्रिया र रोकथामका उपायबारे प्रशिक्षण दिएका थिए। उनले कुष्ठरोग कुनै अभिशाप वा अन्धविश्वाससँग सम्बन्धित नभई जीवाणुबाट सर्ने उपचारयोग्य रोग भएको स्पष्ट पारे।

समयमै पहिचान गरेर नियमित औषधि सेवन गरेमा रोग पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन उनले आग्रह गरे। उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म बारा जिल्लामा ४४ जना नयाँ कुष्ठरोगी बिरामी फेला परेका छन्। तीमध्ये १४ वर्ष मुनिका ४ जना बालबालिकामा पनि रोगको लक्षण देखिएको जानकारी उनले दिए। गत आर्थिक वर्षमा भने बारा जिल्लामा १३७ जना कुष्ठरोगी बिरामी भेटिएका थिए। त्यसैगरी चालु आर्थिक वर्षको माघसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी भेटिएका छन्। बारा जिल्लाका पालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी बिरामी देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा आगामी चैत्र ४ गते कलैयामा नि:शुल्क कुष्ठरोग परीक्षण तथा उपचार शिविर सञ्चालन गरिने जानकारी पनि दिइयो। यस्ता शिविर प्रत्येक दुई महिनामा सञ्चालन गरिने भएकाले कुष्ठरोगको लक्षण देखिएका व्यक्तिलाई शिविरमा आएर जाँच गराउन आयोजकले आग्रह गरेका छन  कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले कुष्ठरोग निवारणका लागि द लेप्रोसी मिसन नेपालले बारा जिल्लामा निरन्तर काम गरिरहेको बताए। उनले स्वास्थ्य शिक्षा र जनचेतना विस्तारका कारण रोगको पहिचान र उपचारमा सुधार हुँदै गएको उल्लेख गरे। समयमै उपचार गराउने ४४ जना बिरामीका कारण जटिल अवस्था नदेखिएको पनि उनले बताए।

पण्डितले रोगबारे सही जानकारी समाजमा फैलाउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै जनचेतना अभिवृद्धिमा सक्रिय सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरे। त्यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले दिगो विकास लक्ष्य २०३० अन्तर्गत क्षयरोग र कुष्ठरोग निवारण गर्ने लक्ष्यअनुसार द लेप्रोसी मिसन नेपालले प्रभावकारी रूपमा काम गरिरहेको बताए। उनले कुष्ठरोगका लक्षण देखिएका व्यक्तिलाई सम्झाइबुझाइ गरी नजिकको स्वास्थ्य संस्थामा पुग्न सहयोग गर्न सबैलाई आग्रह गरे।

जीतपुरसिमरा उपमहानगरपालिकामा अन्य पालिकाको तुलनामा बढी बिरामी देखिएकाले यहाँ थप प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न उनले द लेप्रोसी मिसन नेपाललाई सुझाव दिए। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्कर, द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर सीता बिष्ट, बारा जिल्ला फोकल पर्सन दिपेस यादव लगायत सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कुष्ठरोगबारे समाजमा अझै पनि रहेको भ्रम र भेदभाव अन्त्य गर्न सञ्चारमाध्यमले तथ्यमा आधारित समाचार, जनचेतनामूलक सामग्री र अभियानमार्फत महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरेका थिए। सञ्चारकर्मीले नियमित रूपमा स्वास्थ्यसम्बन्धी सूचना प्रसारण गरेमा रोगको समयमै पहिचान, उपचारमा पहुँच र समाजमा सकारात्मक सोच निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button