राष्ट्रियसमाचारस्थानीय

कलैयाको मटिअर्वामा विद्युत् तार सर्ट हुँदा भीषण आगलागी, तीन घरमा क्षति

बारा, मंसिर ८। बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी हुँदा तीनवटा घरमा क्षति पुगेको छ। आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य दुई घरमा आंशिक क्षति पुगेको छ।

प्रहरीका अनुसार मंसिर ८ गते बिहान करिब ३ः३० बजे स्थानीयवासी रतन महरा चमारको घरबाट विद्युत् तार सर्ट भई आगलागी सुरु भएको थियो। आगलागीबारे बिहान ३ः४० बजे प्रहरी चौकी मटिअर्वामा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश कुमार साहको कमाण्डमा चार जना तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा २५ जनाको टोली गरी कुल २९ जना प्रहरी घटनास्थलमा परिचालित भएका थिए।

दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्थानीय ६५ वर्षीय रतन महरा चमारको काठ र माटोले बनेको खरको छाना भएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, साइकल, फर्निचर, गरगहना तथा तीनवटा बाख्रासमेत जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी, स्थानीय ७० वर्षीय धुरेन्द्र महराको घरको छाना आंशिक रूपमा जल्दा करिब ४० हजार रुपैयाँ र ६० वर्षीय हरिन्द्र रामको घरको छाना आंशिक रूपमा जल्दा करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार उक्त आगलागीबाट तीनवटा घरमा गरी कुल १० लाख ५५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी गराएको  छ। विद्युत् तार सर्टका कारण हुन सक्ने आगलागीबाट बच्न घरमा प्रयोग हुने विद्युत् तार, मिटर तथा अन्य विद्युतीय उपकरणको नियमित जाँच र मर्मत गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button