
जनकपुरधाम, साउन १४ — जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको संवेदनशील क्षेत्रलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईद्वारा जारी आदेशअनुसार २०८३ साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू रहनेछ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा जारी गरिएको आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न तथा घेराउ गर्न निषेध गरिएको उल्लेख छ।
प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग अनुरोध गर्दै आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
कर्फ्यु लागू गरिएको क्षेत्र
उत्तर: लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिघुरजोडा चोकसम्म तथा पूर्वमा लक्ष्मीपुर बेगासम्म। पूर्व: बेलौनी रोडस्थित एम.यु. स्टिलबाट करिब ५०० मिटर पूर्व रहेको पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म।दक्षिण: नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म। पश्चिम: सिघुरजोडा–सोहनी–ननिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केवर पुल–बेला–कादरी मस्जिद आसपासको क्षेत्र।
प्रशासनका अनुसार कर्फ्यु अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायलाई परिचालन गरी आदेशको प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। साथै अत्यावश्यक सेवा बाहेकका गतिविधि स्थगित रहने र परिस्थितिको निरन्तर मूल्याङ्कनपछि आवश्यकताअनुसार थप निर्णय गरिने प्रशासनले जनाएको छ।



