
बारा, असार – २० गते
बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर मिल्सबाट बँगरी नदी तथा आसपासको वातावरण प्रदूषित भएको भन्दै स्थानीयवासी तथा समाज सेबिहरुले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा उद्योगबाट प्रशोधन नगरी फोहोर पानी बँगरी नदीमा मिसाइएको, उद्योगबाट निस्कने धुवाँ, धुलो, दुर्गन्ध तथा अन्य प्रदूषक पदार्थका कारण नदी, वातावरण, जनस्वास्थ्य, कृषि उत्पादन र पशुपालनमा नकारात्मक असर परेको आरोप लगाइएको छ।
स्थानीयवासीका अनुसार उद्योगबाट निस्कने फोहोर पानीका कारण बँगरी नदीको पानीको रंग, गन्ध र गुणस्तरमा परिवर्तन आएको छ। यसबाट नदीमा आश्रित जलचर, माछा तथा जैविक विविधतामा समेत प्रतिकूल असर परेको देखिएको छ। साथै नदीको पानी सिँचाइ, पशुलाई पानी खुवाउन तथा अन्य कृषि प्रयोजनमा प्रयोग गर्ने स्थानीय समुदायको स्वास्थ्यमा जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा उद्योगबाट निस्कने धुवाँ, धुलो र दुर्गन्धका कारण स्थानीय नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी, टाउको दुख्ने तथा दमजस्ता रोग बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगी बढी प्रभावित हुन सक्ने उल्लेख छ।
त्यस्तै प्रदूषणका कारण खेतीयोग्य जमिन, माटोको उर्वराशक्ति, धान, मकै, गहुँ, तरकारी तथा फलफूल उत्पादन र पशुपालनमा समेत प्रतिकूल असर पर्न सक्ने भन्दै यसले स्थानीय अर्थतन्त्र, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनमा दीर्घकालीन असर पार्न सक्ने जनाइएको छ।
ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै वातावरण संरक्षणसम्बन्धी कानुन र मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमार्फत स्थानीयवासीले गरेका प्रमुख मागहरू:
१.उद्योगबाट नदी र वातावरण प्रदूषण भएको विषयमा तत्काल स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक छानबिन गर्ने।
२.बँगरी नदीको पानी, उद्योगबाट निस्केको फोहोर पानी, माटो तथा हावाको गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने।
३.उद्योगले वातावरणीय प्रभाव मूल्यांकन (EIA/IEE) तथा प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गरे–नगरेको छानबिन गरी उल्लंघन पुष्टि भए कानुनबमोजिम कारबाही गर्ने।
४.प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण, उपचार तथा नियमित स्वास्थ्य अनुगमनको व्यवस्था गर्ने।
५.किसानको खेतीबाली, पशुपालन, माटो, जलस्रोत तथा प्राकृतिक स्रोतमा पुगेको सम्भावित क्षतिको मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने।
६.उद्योगबाट निस्कने फोहोर पानी पूर्ण रूपमा प्रशोधन नगरी नदीमा नछोड्ने व्यवस्था सुनिश्चित गर्ने तथा वर्षायाममा फोहोर पानी मिसाइएको पुष्टि भए कडा कानुनी कारबाही गर्ने।
७.उद्योगको फोहोर पानी प्रशोधन प्रणाली (Effluent Treatment Plant) र वायु प्रदूषण नियन्त्रण प्रणाली नियमित रूपमा सञ्चालन भए–नभएको निरन्तर अनुगमन गर्ने।
८.संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी दीर्घकालीन प्रदूषण नियन्त्रण, नदी संरक्षण तथा जनस्वास्थ्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने।
९.छानबिन, अनुगमन र कारबाहीका सम्पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा स्थानीय समुदाय, नागरिक समाज, पत्रकार र सरोकारवाला निकायको सहभागितामा नियमित सार्वजनिक सुनुवाइको व्यवस्था गर्ने।
१०.ज्ञापनपत्रमा जनस्वास्थ्य, स्वच्छ वातावरण, कृषि उत्पादन, प्राकृतिक स्रोत र भावी पुस्ताको संरक्षण सबैको साझा दायित्व भएकाले उद्योग सञ्चालनसँगै वातावरणीय उत्तरदायित्वको पूर्ण पालना हुनुपर्नेमा जोड दिइएको छ।
ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले सोमबार रिलायनस सुगर मिलमा प्राविधिक टोलि सहित स्थलगत अनुगमन गरि प्रदुषित बाताबरण रोकन मिल प्रशासनलाई उपाय अपनाउन निर्देशन दिने बताए ।
ज्ञापनपत्र बुझाउने टोलिहरुमा समाजसेवी हिरामती आर्य (कुशवाहा) फेटा गाउँपालिकाका अध्यक्ष रुसतम अन्सारी आत्मा राम साह रामचन्द्र प्यासी जयप्रकाश दास सुशील साह लागयतको उपस्थिति रहेको थियो । यता प्रशासन तर्फबाट जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर शस्त्र प्रहरी बाराका प्रमुख जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घले लगायतको उपस्थिति रहेकोे थियो ।



