भिडियोमा दुर्व्यवहार भएको महिलाको मृत्यु, एक जना पक्राउ, अन्यको खोजी जारी

बारा – बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहकी सरिया खातुनको निधन भएको छ। उनको मृत्युअघि सार्वजनिक भएको एक भिडियोमा केही स्थानीय व्यक्तिहरूले गालीगलौज, धम्की तथा दुर्व्यवहार गरेको देखिएको भन्दै उक्त घटनाले व्यापक चासो उत्पन्न गरेको छ।
सरिया खातुनको मृत्यु र सार्वजनिक भिडियोमा देखिएको घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा इलाका प्रहरी कार्यालय सिमराले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न स्थानीय तथा सरोकारवालाहरूले माग गरेका छन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। साथै, जबरजस्ती उद्योग तथा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरिएको र फरार रहेका अन्य आरोपितहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको उनले जानकारी गराए।



