राष्ट्रियसमाचार

प्रादेशिक अस्पताल कलैयाको स्तरोन्नतिमा नयाँ फड्को, मन्त्री महम्मद समीरको पहलमा ४ करोड बजेट सुनिश्चित

कलैया, १३ असार
प्रादेशिक अस्पताल कलैयाको सेवा–सुविधा र भौतिक पूर्वाधार विस्तारका लागि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समीरको पहलमा ४ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ। उक्त बजेटबाट अस्पताल परिसरमा आधुनिक क्यान्टिन, कुरुवा घर तथा सुविधासम्पन्न प्रसूति भवन निर्माण गरिनेछ।
अस्पतालमा लामो समयदेखि आवश्यक पूर्वाधारको अभावका कारण बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीले विभिन्न समस्या भोग्दै आएका थिए। अब नयाँ संरचना निर्माण हुने भएपछि अस्पतालको सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।
विशेषगरी ग्रामीण भेगबाट उपचारका लागि आउने बिरामीका आफन्तलाई बस्न उपयुक्त स्थान नहुँदा सास्ती खेप्नुपरेको अवस्था अन्त्य गर्न कुरुवा घर महत्वपूर्ण हुने विश्वास गरिएको छ। त्यस्तै आधुनिक क्यान्टिन निर्माणपछि बिरामी, कुरुवा र अस्पतालका कर्मचारीले स्वच्छ तथा गुणस्तरीय खानपानको सुविधा सहज रूपमा प्राप्त गर्नेछन्।
यसैगरी निर्माण हुने नयाँ प्रसूति भवनले मातृ तथा शिशु स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुका साथै सुरक्षित प्रसूति सेवा विस्तार, बेड क्षमता अभिवृद्धि र आधुनिक स्वास्थ्य सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको पूर्वाधार विकासका लागि बजेट सुनिश्चित भएकोप्रति खुशी व्यक्त गर्दै यसलाई कलैयाको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कदमका रूपमा लिएका छन्। उनीहरूले योजना समयमै कार्यान्वयन गरी निर्माण कार्य गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
मन्त्री महम्मद समीरले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले अस्पतालहरूको पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। जनताको आवश्यकता अनुसार स्वास्थ्यसहित विकास निर्माणका योजनालाई आगामी दिनमा पनि निरन्तर अघि बढाइने उनको प्रतिबद्धता रहेको जनाइएको छ।
चार करोड रुपैयाँको लागतमा निर्माण हुने क्यान्टिन, कुरुवा घर र प्रसूति भवन सम्पन्न भएपछि प्रादेशिक अस्पताल कलैयाको सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने र सेवाग्राहीले थप सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button