राष्ट्रियसमाचार

लागुऔषधविरुद्ध सशक्त सन्देश, युवा सचेतनाका लागि सडकदेखि सभाहलसम्म अभियान

कलैया, असार १२
बारा – लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाराको कलैयामा शुक्रबार प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६” को अवसरमा जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

बिहान करिब ८ बजे जिल्ला प्रशासन कार्यालय कलैयाको प्राङ्गणबाट सुरु भएको प्रभातफेरीमा “लागुऔषध त्यागौँ, स्वस्थ समाज बनाऔँ” र “दुर्व्यसनमुक्त युवा, समृद्ध राष्ट्रको आधार” लगायतका सन्देशमूलक नारासहित सहभागीहरूले बजार क्षेत्र परिक्रमा गरेका थिए। र्‍याली भरतचोक, खानेपानी संस्थान र सिद्धेश्वर मन्दिर हुँदै पुनः जिल्ला प्रशासन कार्यालयको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ३० जना प्रहरी, सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २७ जना सुरक्षाकर्मी तथा राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत सरोज निरौला जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता  प्रहरी नायब उपरीक्षक मीन बहादुर आले सहित सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो।

यस्तै, मनकामना इङ्ग्लिस बोर्डिङ स्कुल कलैयाका विद्यार्थी, स्थानीय युवा, विभिन्न सुधार केन्द्रका प्रतिनिधि तथा सर्वसाधारण गरी करिब १५० देखि २०० जनाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सभा हलमा आयोजित कार्यक्रममा वक्ताहरूले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनीहरूले युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधितर्फ प्रेरित गर्दै जनचेतनामूलक अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा विशेष जोड दिएका थिए।

सहभागीहरूले लागुऔषधको प्रयोग, बिक्री–वितरण तथा अवैध ओसारपसार नियन्त्रणका लागि राज्यका निकायसँगै आम नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए। पछिल्लो समय जिल्लामा बढ्दो दुर्व्यसन नियन्त्रणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वाससमेत व्यक्त गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button