
बारा, असार १२
कलैया – कृषकको आयआर्जन वृद्धि, दुग्ध उत्पादन विस्तार तथा पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यका साथ कलैया उपमहानगरपालिका–२६ मा व्यावसायिक भैंसी वितरण तथा खोर सुधार कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।
कलैया उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र यादवको विशेष पहलमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत लक्षित १४० कृषक परिवारलाई चरणबद्ध रूपमा भैंसी वितरण गरिनेछ। साथै पशुपालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आधुनिक खोर निर्माण तथा सुधारका लागि समेत आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रमको शुभारम्भका अवसरमा नगरप्रमुख बिनोद प्रसाद साह, उपप्रमुख रोशम प्रबिण तथा वडा अध्यक्ष धर्मेन्द्र यादवले संयुक्त रूपमा लाभग्राही कृषकलाई भैंसी हस्तान्तरण गरेका थिए। कार्यक्रममा वडा नम्बर २७ का वडा अध्यक्ष अशोक कुमार तिवारी ६ का रामबिशवास ठाकुर ४ रमेश प्रसाद यादव लगायत जनप्रतिनिधि, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा अध्यक्ष धर्मेन्द्र यादवका अनुसार पहिलो चरणमा १५ वटा भैंसी वितरण गरिएको छ भने बाँकी १२५ वटा भैंसी आगामी दुई दिनभित्र वितरण गरिनेछ। उनले कृषकलाई आत्मनिर्भर बनाउने, स्थानीय स्तरमा दूध उत्पादन बढाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “पशुपालनलाई व्यवसायिक बनाउँदै कृषकको आर्थिक अवस्था सुदृढ गर्नुका साथै स्थानीय उत्पादन वृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो।
भैंसी प्राप्त गरेका कृषकहरूले उपमहानगरपालिकाको यस पहलले पशुपालन व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। खोर सुधार कार्यक्रमले पशुको स्वास्थ्य संरक्षण, सरसफाइ व्यवस्थापन तथा उत्पादन क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने उनीहरूको अपेक्षा छ।
कलैया उपमहानगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान, प्राविधिक परामर्श, पशु स्वास्थ्य सेवा तथा आधुनिक प्रविधिको प्रयोगमा निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्र सुदृढ हुनुका साथै कलैयालाई व्यावसायिक दुग्ध उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।



