मन्त्री समिरको पहलमा बारा पूर्वाधार विकास कार्यालयमा नेतृत्व व्यवस्थापनको तयारी, १ अर्ब ३९ करोडका योजना कार्यान्वयनमा जोड

कलैया, जेठ २१ – मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिर ले बारास्थित पूर्वाधार विकास कार्यालयमा देखिएको नेतृत्व अभावको अवस्थालाई गम्भीर रूपमा लिँदै आवश्यक व्यवस्थापन प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको छ। मन्त्रालयले कार्यालयको काम कारबाहीलाई प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थापन तथा आवश्यक प्रशासनिक सहजीकरणमा ध्यान केन्द्रित गरेको जनाएको छ।
पूर्वाधार विकास कार्यालय बारा अन्तर्गत सञ्चालन हुने करिब १ अर्ब ३९ करोड रुपैयाँ बराबरका विकास निर्माण योजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्यसहित मन्त्रालय सक्रिय रहेको बताइएको छ। कार्यालय प्रमुखको अनुपस्थितिका कारण केही प्रशासनिक प्रक्रिया प्रभावित भए पनि योजनाहरूलाई रोक्न नदिने गरी मन्त्रालयले आवश्यक समन्वय गरिरहेको स्रोतले जनाएको छ।
मन्त्री समिरले प्रदेशको विकास र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै बारासहित सम्पूर्ण जिल्लाका योजनाहरूलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयका अधिकारीहरूका अनुसार कार्यालयमा आवश्यक नेतृत्व व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढिसकेको छ र छिट्टै स्थायी समाधान हुने अपेक्षा गरिएको छ।
हाल कार्यालयका सूचना अधिकारी तथा निमित्त प्रमुख आरती चौधरी मार्फत नियमित प्रशासनिक कार्य सञ्चालन भइरहेको छ। मन्त्रालयले विकास निर्माणका काममा कुनै अवरोध आउन नदिने तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा निरन्तर पहल गरिरहेको जनाएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पनि मन्त्रालयले चाँडै नेतृत्व व्यवस्थापन गरी रोकिएका प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। असार मसान्त नजिकिँदै गर्दा विकास बजेट खर्च तथा योजना कार्यान्वयनलाई तीव्रता दिन मन्त्रालय थप सक्रिय बनेको छ।
भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिर को नेतृत्वमा मधेश प्रदेशमा सडक, पुल तथा अन्य पूर्वाधार विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अभियान जारी रहेको मन्त्रालयले जनाएको छ। बारा जिल्लाका योजनाहरू समेत निर्धारित समयभित्र सम्पन्न गराउन आवश्यक सबै कदम चालिरहेको विश्वास व्यक्त गरे ।



