प्रदेश खबरराष्ट्रियसमाचार

स्व–सहायता समूहका सदस्यहरूका लागि स्व–हेरचाह सम्बन्धी तालिम सम्पन्न

कलैया, बारा, जेठ २० — द लेप्रोसी मिसन नेपालको सहयोग तथा कलैया उपमहानगरपालिकाको समन्वयमा स्व–सहायता समूह (Self Help Group) का सदस्यहरूका लागि “स्व–हेरचाह (Self Care) तालिम” सम्पन्न भएको छ। कलैया स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिममा कुष्ठरोगबाट प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण, आत्मनिर्भरता र जीवनस्तर सुधारका विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रमको अध्यक्षता कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र महतोले गरेका थिए।कार्यक्रममा स्वास्थ्य शाखाका सह–संयोजक मनोज यादव विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी द – लेप्रोसी मिसन नेपाल मधेस प्रदेशका कुष्ठरोग कार्यक्रम व्यवस्थापक अमजद अली मिकरानी, फिजियो थेरापी कर्मी  अप्सरा घिमिरेले सहभागीहरुलाई फिजियो थेरापीको बारेमा प्रशिक्षण दिएका थिए । त्यसतै कार्यक्रममा बारा जिल्ला संयोजक  दिपेस यादव  पर्सा जिल्ला संयोजक रामहरी रेग्मी लगायतले सहभागीहरूलाई विभिन्न विषयमा सहजीकरण गरेका थिए।

तालिमका क्रममा विशेषगरी फिजियोथेरापी, स्व–हेरचाहका विधि, शारीरिक अंगहरूको सुरक्षा, घाउ तथा संक्रमणबाट बच्ने उपाय, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा आत्मविश्वास अभिवृद्धि सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले समयमै उचित हेरचाह गर्न सके अपाङ्गताको जोखिम कम गर्न तथा प्रभावित व्यक्तिहरूको जीवनलाई सहज बनाउन सकिने बताएका थिए।
कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त गरेको ज्ञानले आफ्नो स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले सिकेका सीप तथा जानकारीलाई समुदाय स्तरमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

कलैया उपमहानगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र महतोले  स्व–सहायता समूहका सदस्यहरूको क्षमता विकास तथा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले स्थानीय तह र सरोकारवाला निकायबीचको सहकार्यबाट कुष्ठरोग प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

कार्यक्रममा बारा तथा आसपासका क्षेत्रका स्व–सहायता समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता तालिमले सहभागीहरूमा आत्मनिर्भरता, स्वास्थ्यप्रति सचेतना तथा सामाजिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button