वातावरण दिवसमा बारा प्रहरीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

जेष्ठ – २२
कलैया, बारा – विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले “वृक्ष रोपौं, वातावरण जोगाऔं” भन्ने नारासहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय परिसर तथा विभिन्न स्थानमा फलफूल, छायाँदार र वातावरणमैत्री प्रजातिका बिरुवाहरू रोपिएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले वृक्षारोपण गरी गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कुँवरले वातावरण संरक्षण आजको विश्वव्यापी आवश्यकता रहेको उल्लेख गर्दै एक व्यक्तिले एक बिरुवा रोपेर त्यसको संरक्षण गर्न सके वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले जिल्ला अन्तर्गत रहेका सबै प्रहरी युनिटहरूलाई समेत विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न निर्देशन दिँदै हरित वातावरण निर्माणमा प्रहरी संगठनले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, प्रहरी निरीक्षक सुरेशराज भट्ट, प्रकाश खड्का, दिपेन्द्र यादव, दिलिपकुमार थापा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने, हरियाली विस्तार गर्ने तथा आगामी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्ने सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित यस कार्यक्रमले वातावरण संरक्षणमा प्रहरी संगठनको सामाजिक उत्तरदायित्व तथा प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।



