पन्नादेवीको २२ बिघा जग्गाको आम्दानीमा अनियमितताको आशंका, विद्यालयको खातामा रकम छैन; जोताहाहरूले बुझाएको दाबी

जेष्ठ – २२
बारा । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट प्राप्त हुने आम्दानीको हिसाबकिताबमा गम्भीर प्रश्न उठेको छ। विद्यालयको अडिट प्रतिवेदनमा लाखौं रुपैयाँ बराबरको धानबाली रकम बक्यौता देखिएपछि आर्थिक अनियमितताको आशंका बढेको हो।
गत आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विद्यालयले विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख २८ हजार २५० रुपैयाँ बराबरको धानबाली असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ। तर सम्बन्धित जोताहाहरूले आफूहरूले रकम बुझाइसकेको दाबी गरेका छन्। यसले विद्यालयको आर्थिक अभिलेख र वास्तविक कारोबारबीच गम्भीर विरोधाभास देखिएको छ।
प्रतिवेदनअनुसार विद्यालयको जग्गाबाट वार्षिक ३४१ क्विन्टल २२ किलो धान प्राप्त हुनुपर्ने व्यवस्था छ। प्रतिक्विन्टल ३ हजार रुपैयाँका दरले विद्यालयले हरेक वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्ने भए पनि त्यसको स्पष्ट अभिलेख उपलब्ध छैन। सबैभन्दा ठूलो बक्यौता जोताहा उपेन्द्र प्रसाद चौधरीको नाममा १९ लाख २ हजार ६ सय रुपैयाँ देखाइएको छ। अडिट प्रतिवेदनमा उनले कुतबाली नतिरी जग्गा छाडिसकेको उल्लेख भए पनि विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले उक्त विवरण तथ्यगत रूपमा गलत रहेको र चौधरी अझै पनि जग्गा जोतभोग गरिरहेको बताएका छन्। यसले अडिट प्रतिवेदनको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ।
यस्तै अर्का जोताहा रामरुप प्रसाद चौधरीको नाममा १२ लाख ९० हजार ९ सय ९० रुपैयाँ बक्यौता देखाइएको छ। तर उनले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डललाई स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको रोहबरमा रकम बुझाएको दाबी गरेका छन्। यता चौधरीसंग भने रकम बुझाएको कुनै आधिकारिक रसिद उपलब्ध छैन।
त्यसैगरी अर्का जोताहा सिकेन्द्र सहनीले पनि आफ्नो तर्फको रकम बैंक खातामार्फत जम्मा गरेको दाबी गरेका छन्। तर अडिट प्रतिवेदनमा उनको नाममा ३ लाख ६६ हजार २ सय १० रुपैयाँ बक्यौता देखाइएको छ। बैद्यनाथ सहनीको नाममा ४ लाख २१ हजार ८ सय रुपैयाँ तथा प्रधुमन प्रसाद चौधरीको नाममा ५० हजार ७ सय रुपैयाँ बक्यौता उल्लेख गरिएको छ।
उल्लेखित पाँच जनाको नाममा मात्रै १ हजार ३ सय ४२ क्विन्टल ७५ किलो धानबाली बराबर ४० लाख २८ हजार २५० रुपैयाँ बक्यौता देखाइएको छ। यसरी जोताहाहरुलो पैसा बुझाएको दावी गर्नु तथा विद्यालयमा अभिलेखको अभाव, रसिद नहुनुले लेखापरिक्षण प्रतिवेदन(अडिट रिपोर्ट) मै तथ्यगत त्रुटि देखिनुले विद्यालयको आर्थिक व्यवस्थापनमाथि थप आशंका उब्जाएको छ।
यो प्रकरणले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डल, तत्कालीन प्रधानाध्यापक मोतिलाल यादव तथा लेखापाल राकेश यादवको कार्यकालमा भएका आर्थिक कारोबारको पारदर्शितामाथि गम्भीर शंका उत्पन्न गरेको स्थानीयहरूको भनाइ छ। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको सम्पूर्ण आर्थिक कारोबारको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न, जग्गाबाट प्राप्त आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्न माग गर्दै दोषी देखिने जो कोहीलाई पनि कानुनी कारबाही गर्न माग गरेका छन्।
यता यस विषयमा विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीसँग प्रतिक्रिया लिन खोज्दा उनले सार्वजनिक रूपमा केही बोल्न चाहेनन्।
विद्यालयको खातामा नदेखिएको लाखौं रुपैयाँ वास्तवमै उठेको थियो कि थिएन, उठेको भए कहाँ गयो, र अभिलेख किन भेटिएन ? यी प्रश्नहरूको जवाफ सम्बन्धित निकायको छानबिनपछि मात्रै स्पष्ट हुने देखिएको छ। हाल उपलब्ध तथ्यहरूले भने विद्यालयको आर्थिक प्रशासनमा गम्भीर अनियमितता भएको आशंकालाई थप बल पु-याएको छ ।



