राष्ट्रियसमाचार

घर खाली भएको मौका छोपी १३ लाख बराबरको नगद तथा सुनचाँदी चोरी

कलैया, असार ११ – बाराको कलैया उपमहानगरपालिका–६ स्थित कृषि बजार चोकमा रहेको राजन यादवको घरमा चोरी भएको छ। घरधनी परिवार विवाह समारोहमा गएको मौका छोपी चोर समूहले घरभित्र प्रवेश गरी नगद तथा सुनका गरगहना चोरी गरेको  छ।

पीडित राजन यादवका अनुसार परिवारका सदस्यहरू असार २९ गते आफ्नो पुर्ख्यौली घर देवताल गाउँपालिका–६ बर्वा विवाह कार्यक्रममा सहभागी हुन गएका बेला चोरी भएको हो। घर सुनसान रहेको अवस्थामा चोरहरूले गोदरेजको लकर फोडेर करिब चार भर सुनका गरगहना तथा नगद रकम चोरी गरेका छन्।

यादवका अनुसार चोरी भएका नगद र गरगहनाको कुल मूल्य करिब १३ लाख रुपैयाँ बराबर रहेको छ। चोरीको घटना थाहा पाएपछि स्थानीयवासी तथा प्रहरी घटनास्थल पुगेका थिए। प्रहरीले घरभित्रको अवस्था निरीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको अस्थायी प्रहरी चोकी बसपार्कका प्रहरी नायब निरीक्षक बिमलेश यादव सहितको प्रहरी टोलीले घटना स्थलमा पुगेर  लकर फोडिएको अवस्था, कोठाहरू अस्तव्यस्त बनाइएको तथा चोरीका अन्य प्रमाण संकलन गर्नु भएको  छ। चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले पछिल्लो समय चोरीका घटनामा वृद्धि भइरहेको भन्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूलाई चाँडै कानुनी दायरामा ल्याइने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button