प्रदेश खबरराजनीतिराष्ट्रियसमाचार

आज बिहान पक्राउ परेका वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा छुट्ने

वीरगञ्ज, जेष्ठ १९— आज बिहान पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटी राखी रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशपछि उनलाई धरौटी बुझाएर रिहा गर्ने प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार मेयर सिंहविरुद्ध दर्ता भएको मुद्दामा प्रहरीले पहिले नै अनुसन्धान सम्पन्न गरी रायसहितको फाइल जिल्ला अदालत पर्सामा पेश गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीको अनुरोधमा तत्काल पर्सा अदालतबाट पक्राउ अनुमति प्राप्त नभए पनि पछि अदालतले थप अध्ययन तथा कानुनी प्रक्रिया पछि २०८३ साल जेठ ८ गते पक्राउ पुर्जी जारी गरेको थियो। अदालतबाट प्राप्त पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहको खोजी कार्यलाई तीव्र बनाएको थियो। सोही क्रममा आज सिंहलाई पर्साको ठोरीबाट प्रहरीले बिहान उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पर्सामा उपस्थित गराएको थियो।

अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशले मेयर सिंहलाई पुर्पक्षका लागि थुनामा नराखी ४ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्। अदालतको आदेशसँगै धरौटी रकम बुझाउने प्रक्रिया सुरु भएको र रकम बुझाएपछि उनी रिहा हुने डीएसपी कार्कीले जानकारी दिए।
मेयर सिंह पक्राउ परेपछि वीरगञ्ज महानगरपालिका, राजनीतिक दल तथा सर्वसाधारणबीच घटनाले व्यापक चर्चा पाएको थियो। बिहान पक्राउ परेका मेयर सिंहलाई सोही दिन अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि घटनाक्रमले नयाँ मोड लिएको छ।

प्रहरी स्रोतका अनुसार मुद्दाको अन्तिम फैसला भने अदालतबाट हुने छ । भने मेयर सिंह अदालतले तोकेका कानुनी सर्तहरू पालना गर्दै मुद्दाको सुनुवाइमा उपस्थित हुनुपर्नेछ। उक्त घटनालाई लिएर वीरगञ्जको राजनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने अदालतको आदेशपछि मेयर सिंह समर्थकहरूमा खुसीको वातावरण देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button