सिम्रौनगढ नगरपालिकामा पुनः विवाद : अदालतमा मुद्दा चलिरहेकै कर्मचारीलाई शाखा प्रमुख बनाइयो।

बारा – सिम्रौनगढ नगरपालिकामा प्रशासनिक निर्णयलाई लिएर फेरि गम्भीर विवाद उत्पन्न भएको छ। पाँचौँ तहका करारका कर्मचारी जितेन्द्र प्रसाद यादवविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उनलाई सामाजिक विकास शाखाको प्रमुख बनाइएको विषयले चौतर्फी आलोचना निम्त्याएको हो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय शंकर ठाकुरले अदालतको अन्तिम फैसला नआउँदै यस्तो जिम्मेवारी दिएको निर्णयलाई लिएर स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ। स्रोतका अनुसार यो निर्णय विभिन्न दबाब र ‘सेटिङ्ग’ को प्रभावमा गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूका अनुसार, न्यायिक प्रक्रिया चलिरहेकै व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिनु प्रशासनिक नैतिकता विपरीत मात्र नभई संस्थागत पारदर्शितामाथि ठाडो प्रहार हो। यस्तो कदमले नगरपालिकाभित्र घुसखोरी, पहुँच र व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको संकेत दिएको उनीहरूको भनाइ छ।
यसअघि पनि सम्बन्धित कर्मचारीको नाम विभिन्न विवादमा जोडिँदै आएको जनचर्चा छ। त्यसैले पुनः जिम्मेवारी दिइनु नगरपालिकाको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउने आधार बनेको छ।
अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई जिम्मेवारी दिन
नगरपालिका जस्तो सार्वजनिक संस्थालाई केही व्यक्तिको स्वार्थपूर्तिको माध्यम बनाउने प्रयास भइरहेको आरोपसमेत लाग्न थालेको छ। जनताले तिरेको करबाट सञ्चालन हुने संस्थामा यस्ता निर्णयले विश्वासको संकट गहिरिँदै गएको छ।
सरोकारवालाहरूले चेतावनी दिएका छन् कि यस्ता विवादास्पद निर्णयमाथि समयमै छानबिन र कारबाही नभए सिम्रौनगढ नगरपालिकाको साख मात्र होइन, समग्र विकास प्रक्रियामा समेत नकारात्मक असर पर्नेछ।अब जनताको माग स्पष्ट छ।पारदर्शिता निष्पक्षता उत्तरदायित्व सुनिश्चित गरियोस्।अन्यथा, जनआक्रोश चर्किने संकेत देखिएको छ।



