कृषिराजनीतिसमाचार

किसानलाई समयमै मल, दीर्घकालीन सिँचाइ र गुणस्तरीय बीउ उपलब्ध गराउन माग –  हिरामती कुशवाहा

दिपेश कुशवाहा

कलैया, बारा। कलैया उपमहानगरपालिकाकी समाजसेवी हिरामती कुशवाहा नेतृत्वमा किसानहरूको समस्या समाधानको माग गर्दै श्री कृषि ज्ञान केन्द्र, कलैया–बाराका प्रमुख राजनारायण साह मार्फत कृषि, वन तथा पर्यावरण मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा कलैयाकी छोरी हिरामती कुश्वाहासहित ,श्री नबिनतम कृषि सहकारी सस्था लिको अध्यक्ष उदय ठाकुर र श्री दलित महिला कृषक समूह अध्यक्ष राज कुमारि राम ,युवा समाजसेवि इ. सौरभ चौगाईं, मनोज कुश्वाहा ,रुपेन्द्र कुश्वाहा ,अकाश सरार्फर निर्देश साह र राजन दास ,राजेश कुश्वाहा ,अनिस सरार्फ ,शोभित कुश्वाहा लगायतको सहभागिता रहेको थियो।

ध्यानाकर्षण पत्रमा नेपालको कृषि क्षेत्र देशको अर्थतन्त्र तथा खाद्य सुरक्षाको प्रमुख आधार भए पनि किसानहरूले खेतीको मुख्य समयमा रासायनिक मल, दीर्घकालीन सिँचाइ तथा गुणस्तरीय बीउ समयमै नपाउँदा गम्भीर समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। मलको अभाव, वितरणमा ढिलाइ तथा गुणस्तरीय बीउको सहज उपलब्धता नहुँदा किसानहरू महँगो मूल्यमा सामग्री खरिद गर्न बाध्य भएको र यसले कृषि उत्पादन लागत बढ्नुका साथै उत्पादनमा समेत नकारात्मक असर परेको जनाइएको छ।

विशेष गरी धान, मकै, गहुँ तथा तरकारी खेती गर्ने किसानहरूले आवश्यक समयमा मल र बीउ नपाउँदा उत्पादन घट्ने, आम्दानी कम हुने तथा खाद्य सुरक्षामा चुनौती थपिएको पत्रमा उल्लेख छ। कतिपय किसान निजी बजारबाट चर्को मूल्यमा मल तथा बीउ खरिद गर्न बाध्य भएका छन् भने केहीले गुणस्तरहीन सामग्री प्रयोग गर्नुपरेको गुनासो पनि समेटिएको छ।

ध्यानाकर्षण पत्रमार्फत पाँच प्रमुख माग अघि सारिएका छन्। खेतीको मौसमअघि नै पर्याप्त मात्रामा रासायनिक मलको सुनिश्चित आपूर्ति, सबै पालिका तथा कृषि सेवा केन्द्रमार्फत दीर्घकालीन सिँचाइ र गुणस्तरीय बीउको सहज उपलब्धता, मल तथा बीउ वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी तथा किसानमैत्री बनाउने व्यवस्था, कालोबजारी तथा गुणस्तरहीन मल–बीउ बिक्री गर्नेमाथि कडा कारबाही, साथै जिल्लामा खेत खनजोत गर्ने कृषि उपकरण तथा सवारी साधनको न्यूनतम भाडादर प्रत्येक वर्ष निर्धारण गर्ने व्यवस्था गर्न माग गरिएको छ। साथै स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी किसानका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिएको छ।
हिरामती कुश्वाहाले कृषि प्रधान देशका किसान नै मल, बीउ र सिँचाइको अभावमा पीडित हुनु दुःखद भएको उल्लेख गर्दै किसानको उत्पादन, आम्दानी तथा खाद्य सुरक्षाको संरक्षणका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइन्।

उक्त ध्यानाकर्षण पत्रको बोधार्थ मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बारा, कलैया उपमहानगरपालिका, कृषि विभाग हरिहरभवन, ललितपुर तथा कृषि सामग्री कम्पनी लिमिटेड, कलैया–बारालाई समेत पठाइएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button