सामाजिक सञ्जालमा भाइरल भिडियोबारे यातायात व्यवस्था कार्यालय बाराको स्पष्टीकरण

कलैया, साउन २२
बारा – यातायात व्यवस्था कार्यालय, बारा (कलैया) ले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा कार्यालय प्रमुख चिन्तन आचार्यसँग सम्बन्धित एउटा भिडियो सार्वजनिक भएपछि त्यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त घटना २०८२ साल फागुन महिनामा कार्यालय परिसरभित्र भएको हो। विज्ञप्तिमा आफूलाई पत्रकारको परिचय दिएका एक व्यक्तिले कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा नियमित कार्यसम्पादनमा अवरोध पुर्याएको कारण सामान्य विवाद उत्पन्न भएको उल्लेख गरिएको छ।
कार्यालयका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्र सम्पादन गरेर राखिएको हुँदा त्यसका आधारमा घटनाको वास्तविकता बुझ्न कठिन रहेको जनाएको छ। साथै, घटनापछि दुवै पक्षबीच आपसी छलफलमार्फत मिलापत्रसमेत भइसकेको विज्ञप्तिमा उल्लेख छ।
यातायात व्यवस्था कार्यालयले कार्यालय प्रमुख वा कर्मचारीहरूको उद्देश्य कुनै पनि सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने नभएको स्पष्ट पार्दै कार्यालयको शान्ति, सुरक्षा र नियमित सेवा प्रवाहलाई निरन्तर कायम राख्दै आएको जनाएको छ। साथै, सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान वा छानबिन भएमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
कार्यालयले अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाउने, तथ्यविपरीत प्रचारप्रसार गर्ने तथा कार्यालय र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासमक्ष आग्रह गरेको छ।
विज्ञप्तिको अन्त्यमा यातायात व्यवस्था कार्यालय, बाराले कानुनको परिधिभित्र रही सेवाग्राहीलाई सरल, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको भन्दै सेवाप्रति विश्वास कायम राख्न सबैमा अनुरोध गरेको छ।



