प्रदेश खबरराष्ट्रियसमाचार

आदर्श कोतवालको १६औँ गाउँसभा सम्पन्न : ४१ करोड ३३ लाखभन्दा बढीको बजेट सार्वजनिक

बारा, असार १० — बाराको आदर्श कोतवाल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै १६औँ गाउँसभा सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहको अध्यक्षतामा सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। अध्यक्ष साहले  गाउँपालिकाको विकास, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा बजेट सार्वजनिक गरेका हुन्।
सार्वजनिक बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा विशेष अनुदानलाई मुख्य आयस्रोतका रूपमा राखिएको छ। साथै मधेश प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र गाउँपालिकाको आन्तरिक आयलाई समेत बजेटको आधार बनाइएको छ।
कुल बजेटमध्ये २२ करोड ५६ लाख ७२ हजार रुपैयाँ चालु खर्च र १८ करोड ७६ लाख ९१ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य पूर्वाधार विकास, सामाजिक सुरक्षा र प्रशासनिक सुधारका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
गाउँसभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा नं. ८ का वडा सचिव रामएकवाल यादवले गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
गाउँसभा समापन गर्दै अध्यक्ष साहले आगामी वर्षलाई विकास निर्माण, पारदर्शिता, उत्तरदायित्व र जनमैत्री सेवा प्रवाहको वर्षका रूपमा अघि बढाइने बताए। उनले गाउँपालिकाको समृद्धि र दिगो विकासका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button