
जेष्ठ – २२
रौतहट – जिल्ला कारागार गौरमा पुर्पक्षका लागि थुनामा रहेका शेख नुरुल्लाह देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल शाहले चढ्ने सरकारी गाडीमा वीरगन्ज पुगेको पाइएको छ । पेट दुखेको भन्दै उपचारका लागि लगिएका हत्या मुद्दाका अभियुक्त नुरुल्लाहले कलैया खाना खाइरहेको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको गाडी दुरुपयोगबारे खुलेको हो ।
हत्या मुद्दाका कैदी नुरुल्लाह देवाही गोनाही नगरपालिका–१ का पूर्ववडाध्यक्ष पनि हुन् । उनीमाथि ७८ वर्षीय शेख तैयबको हत्या अभियोग छ । उनी मंगलबार दिउँसो करिब १२ बजे गौर कारागारअगाडिबाट चढेर वीरगन्ज पुगेका थिए। पेट दुखेको भन्दै उपचारका लागि वीरगन्ज लगिएको थियो । तर, उपचारका लागि लगिएका नुरुल्लाहसहितको समूहले होटेलमा बसेर खाना खाइरहेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा छ। ‘एमडीलार्ड’ नामक फेसबुक आइडीबाट सार्वजनिक भएको टिकटक भिडियोमा नुरुल्लाहले ‘वेट एन्ड सी’ (पर्ख र हेर) भनेको सुनिन्छ । उनी होटलमा खाना खाइरहेको र छेउमै प्रहरी उभिएको भिडियोमा प्रस्ट देख्न सकिन्छ।
गौर कारागारका जेलर प्रदीप पौडेलले गत मंगलबार उपचारका लागि दुईजना कैदीलाई वीरगन्ज पठाइएको बताए। उपचारका लागि लगिएका कैदीले होटेलमा बसेर टिकटक भिडियो बनाएर अपलोड गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले दाबी गरे। जेलर पौडेलले यस घटना र बाहिरिएको भिडियोका विषयमा आफूले आन्तरिक रूपमा बुझ्ने र छानबिन गर्ने बताए। रौतहटका एसपी सीताराम रिजालले उपचार गराउन भनेर वीरगन्ज लगिएका कैदीले कलैयामा होटेलमा खाना खाएको जानकारीमा आएको बताए। ‘छोरा पनि सँगै रहेछन्। भोक लाग्यो भनेपछि खाना खाएछन्। त्यसमा अन्यथा भएन । तर, अरू दुरुपयोग भएको भए छानबिन हुन्छ।’ नुरुल्लाह ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा) बाट देवाही गोनाही नगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन्।
११ जेठ ०८० मा देवाही गोनाही नगरपालिका–१, करुनियाका ७८ वर्षीय शेख तैयबको गोली हानेर हत्या भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन्। उनी ०८१ वैशाखमा पक्राउ परेका थिए।



