राष्ट्रियसमाचार

जय मातृभूमि पार्टीद्वारा रास्वपालाई बधाई, सहयोग गर्ने प्रतिबद्धता।

 

काठमाडौं – जय मातृभूमि पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा सरकार, निर्वाचन आयोग, आम मतदाता, उम्मेदवार तथा सक्रिय पार्टी कार्यकर्ताहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
महासचिव गोविन्द गिरीको हस्ताक्षरमा जारी विज्ञप्तिमा झण्डै दुईतिहाइ मत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै, उसले आफ्नो घोषणापत्रमा गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्दै देशको उज्ज्वल भविष्य निर्माण गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

जय मातृभूमि पार्टीले नेपालवादको अवधारणामार्फत सुशासन स्थापना र दिगो आर्थिक विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको उल्लेख गर्दै, जेन–जी आन्दोलनबाट उठाइएका अधिकांश एजेन्डाहरू रास्वपाका एजेन्डासँग मिल्दोजुल्दो रहेको जनाएको छ। त्यसैले नयाँ बन्ने रास्वपा नेतृत्वको सरकारले इमान्दारितापूर्वक आफ्ना एजेन्डाहरू कार्यान्वयन गरी देशमा दीर्घकालीन रूपमा रहेको कुशासन र अस्थिरताको अन्त्य गर्न सकेमा आफ्नो पार्टीले पूर्ण समर्थन र सहयोग गर्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा गुण र दोषका आधारमा रास्वपा सरकारलाई आवश्यक सुझाव तथा सहयोग गर्ने निर्णय समेत गरिएको जनाइएको छ।

यसैबीच, नयाँ सरकारले अवलम्बन गर्ने परराष्ट्र नीतिका विषयमा सामाजिक सञ्जालमा उठिरहेका चासो र प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरिएको छ। चर्चामा रहेका अन्तर्राष्ट्रिय सम्झौताहरूका सन्दर्भमा जनताका सवालहरूलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघको सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

जय मातृभूमि पार्टीले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै छोटो समयमै देशलाई समृद्ध, सुदृढ र उन्नत दिशातर्फ लैजान नयाँ सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button