
असार -१
कलैया, बारा । कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय बाराको लापरवाहीका कारण बालबालिकालाई प्रदान गरिने खोप सेवा नै जोखिममा परेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय बाराको भवनमा रहेको एउटै कोठाबाट क्षयरोग (टीबी) संक्रमित बिरामीलाई दैनिक औषधि वितरण गर्ने र बालबालिकालाई नियमित खोप सेवाको खोप भाण्डारण गरिने र नियमित खोप लिनबाट छुटेका लाबबालिकाहरुलाई खोप लगाउने गरिएको आरोप लागेको छ ।
बालबालिकालाई सुरक्षित वातावरणमा खोप उपलब्ध गराउनुपर्ने स्वास्थ्य मापदण्ड विपरीत संक्रामक रोगका बिरामीको आवतजावत हुने स्थानमै खोप भण्डारण गरिँदा अभिभावकहरूमा चिन्ता बढेको छ। शिशु तथा बालबालिका र क्षयरोगी बिरामीहरू एउटै परिसर तथा कोठा प्रयोग गर्न बाध्य हुँदा संक्रमण नियन्त्रणका आधारभूत मापदण्डमाथि नै प्रश्न उठेको छ।
स्थानीयवासीका अनुसार सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बेवास्ता गरिएको छ। स्वास्थ्य कार्यालय परिसरमा आउने अभिभावकहरूले समेत यस्तो व्यवस्थाले बालबालिकालाई अनावश्यक जोखिममा पारेको बताएका छन्।
यस विषयमा प्रतिक्रिया लिँदा कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख शैलेस मण्डलले क्षयरोगको औषधि वितरण र खोप सेवा एउटै स्थानबाट सञ्चालन गर्नु उपयुक्त नभएको स्वीकार गरेका छन्। उनले खोप सेवा छिट्टै अर्को स्थानबाट सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। मण्डलका अनुसार उक्त कोठामा मुख्य रूपमा खोप भण्डारण गरिन्छ र प्रत्येक महिनाको १ गतेदेखि ५ गतेसम्म मात्र खोप प्रत्येक स्वास्थ सस्थाहरुमा वितरण हुने गरेको बताए ।
यद्यपि, स्वास्थ्य शाखा प्रमुख स्वयंले एउटै स्थानबाट सेवा सञ्चालन गर्नु उचित नरहेको स्वीकार गरिसकेपछि विगतदेखि यस्तो व्यवस्था किन कायम राखियो भन्ने प्रश्न उठेको छ। सम्बन्धित निकायले समस्या रहेको थाहा हुँदाहुँदै पनि सुधारका लागि समयमै पहल नगरेको भन्दै स्थानीयले आलोचना गरेका छन्।
मण्डलले यस व्यवस्थाले बालबालिकामा धेरै असर नपर्ने दाबी गरे पनि स्वास्थ्य मापदण्डविपरीत सञ्चालन भइरहेको सेवा व्यवस्थाले अभिभावकहरूलाई आश्वस्त पार्न सकेको छैन। स्वास्थ्य सुरक्षाजस्तो संवेदनशील विषयमा “असर नपर्ने” तर्कले जिम्मेवार निकायको लापरवाही ढाक्न नसक्ने स्थानीयको भनाइ छ।
विशेषज्ञहरूका अनुसार क्षयरोग हावाबाट सर्ने संक्रामक रोग भएकाले टीबी सेवा र बालबालिकाको खोप सेवालाई पूर्ण रूपमा छुट्टै र सुरक्षित वातावरणमा सञ्चालन गर्नुपर्छ। जोखिम कम भए पनि संवेदनशील उमेर समूहका बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनु आवश्यक हुन्छ।
स्थानीयवासी तथा अभिभावकहरूले कलैया उपमहानगरपालिका र स्वास्थ्य कार्यालय बाराले तत्काल खोप सेवालाई छुट्टै, सुरक्षित तथा बालमैत्री वातावरणमा सञ्चालन गर्न माग गरेका छन्। उनीहरूले बालबालिकाको स्वास्थ्यसँग जोडिएको विषयमा देखिएको लापरवाहीप्रति सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।





