
जनकपुरधाम, जेष्ठ ३१ — नेपाली कांग्रेसको मधेस स्तरीय कार्यकर्ता भेला आइतबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका पूर्व उपसभापति, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलामा बोल्दै प्रमुख अतिथि निधिले नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा तथा जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका संयोजक आनन्द ढुंगानाले भेलाको उद्देश्यबारे प्रकाश पार्दै संगठन सुदृढीकरण, पार्टीभित्रको एकता र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
भेलामा विशेष अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका पूर्व मन्त्री कुन्दनराज काफ्ले, पूर्व मन्त्री मोहन बस्नेत लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी मधेस प्रदेश अन्तर्गतका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पार्टी संगठनलाई गाउँदेखि केन्द्रसम्म थप सशक्त बनाउने, आगामी निर्वाचनलाई लक्षित गरी संगठन विस्तार गर्ने तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा आफ्ना धारणा राखेका थिए।
भेला पार्टीको संगठनात्मक सुदृढीकरण, आपसी समन्वय तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।



