कलैया बजार तथा पार्किङ व्यवस्थापनका लागि GENZ & Youth of Bara को ८ बुँदे सुझाव

असार – २
कलैया, बारा । कलैया उपमहानगरपालिकाभित्र बढ्दो ट्राफिक चाप, अव्यवस्थित पार्किङ र सडक किनारामा फैलिएको असंगठित व्यापारका कारण बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको भन्दै GENZ & Youth of Bara ले नगर प्रमुख बिनोद साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।
संस्थाले कलैया उपमहानगरपालिका जिल्लाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र भए पनि बजार व्यवस्थापन र पार्किङको अभावका कारण शहरको सौन्दर्य, व्यापारिक वातावरण तथा नागरिकको दैनिक आवागमन प्रभावित भएको जनाएको छ। विगतमा विभिन्न प्रयास भए पनि दीर्घकालीन रूपमा समस्या समाधान हुन नसकेको उल्लेख गर्दै संस्थाले व्यवस्थित, सफा र आधुनिक शहर निर्माणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा सबै सरोकारवालाको सहभागितामा सर्वपक्षीय बैठक आयोजना गरी बजार तथा पार्किङ व्यवस्थापनको कार्यलाई सहमतिका आधारमा अघि बढाउनुपर्ने सुझाव दिइएको छ। उद्योग वाणिज्य संघ, किराना, कपडा, मासु–माछा व्यवसायी, अटो तथा ई–रिक्सा व्यवसायी लगायत सम्बन्धित पक्षको सहभागितामा साझा निर्णय गर्नुपर्ने संस्थाको भनाइ रहेकोे छ।
त्यसैगरी, कलैया बजार क्षेत्रभित्र जथाभावी मोटरसाइकल पार्किङ पूर्ण रूपमा निषेध गरी व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्न माग गरिएको छ। मुख्य बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङका कारण पैदल यात्रु तथा सवारी आवागमनमा समस्या सिर्जना भइरहेको भन्दै यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ।
संस्थाले घण्टाघर क्षेत्रको पार्किङ व्यवस्थापन मा विशेष ध्यान दिन आग्रह गरेको छ। घण्टाघर आसपास अव्यवस्थित रूपमा पार्किङ गरिएका अटो तथा ई–रिक्सालाई त्रिचन्द्र माध्यमिक विद्यालय नजिक निर्माण गरिएको नयाँ पार्किङ क्षेत्रमा व्यवस्थापन गर्न तथा घण्टाघरको पश्चिम भागलाई मोटरसाइकल पार्किङका लागि मात्र प्रयोग गर्न सुझाव दिइएको छ।
त्यसैगरी, भरतचोक क्षेत्रको पार्किङ व्यवस्थापन गर्दै त्यहाँ रहेका अटो, ई–रिक्सा तथा अन्य सार्वजनिक सवारी साधनलाई रामजानकी मन्दिर आसपासको खाली स्थान वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गरी ट्राफिक चाप न्यूनीकरण गर्नुपर्ने माग गरिएको छ।
अटो व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै अटो स्टप तथा दीर्घकालीन पार्किङ व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ। भरतचोक क्षेत्रमा यात्रु चढाउने र ओराल्ने प्रयोजनका लागि सीमित संख्यामा अटो स्टप तोकी बाँकी अटोहरूलाई तोकिएको पार्किङ स्थलमै राख्ने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ। यात्रु चढाउने तथा ओराल्ने कार्यपछि अटो तत्काल पार्किङ क्षेत्रमा फर्कनुपर्ने व्यवस्था गर्नुपर्ने संस्थाको धारणा छ।
ज्ञापनपत्रमा कृषि बजारको प्रभावकारी उपयोग र बजार विस्तार लाई पनि प्राथमिकता दिइएको छ। हाल बजार क्षेत्रमा बढ्दो भीडभाड र ट्राफिक चाप कम गर्न कृषि बजारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई कलैया बजार तथा कृषि बजार दुवै क्षेत्रमा व्यवस्थित व्यापारिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै, दरबारचोक क्षेत्रमा रहेको माछा बजारलाई कृषि बजार क्षेत्रमा स्थानान्तरण गरी व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्न माग गरिएको छ। यसबाट बजार क्षेत्रको भीड कम हुनुका साथै व्यापार सञ्चालन पनि थप व्यवस्थित हुने विश्वास व्यक्त गरिएको छ।
साथै, सडक किनारामा हुने अव्यवस्थित व्यापार नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै बजार तथा कृषि बजार बाहेक अन्य सार्वजनिक स्थान र सडक पेटीमा हुने पसल तथा व्यापारिक गतिविधिलाई तोकिएको क्षेत्रमा सीमित गर्न आग्रह गरिएको छ। यसबाट शहरको सौन्दर्य कायम हुनुका साथै यातायात व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
संस्थाले ज्ञापनपत्रमार्फत सम्बन्धित सबै सरोकारवालाबीच विस्तृत छलफल गरी सुझावहरूलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ। केही दिनका लागि मात्र होइन, स्थायी समाधानको खोजी गरी बजार तथा पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाइए कलैया उपमहानगरपालिकाको सौन्दर्य, व्यापारिक वातावरण तथा नागरिकको दैनिक जीवनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ।
GENZ & Youth of Bara का अध्यक्ष सौरभ पाण्डेय द्वारा हस्ताक्षरीत उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बारालाई समेत दिइएको छ। संस्थाले बजार व्यवस्थापन अभियानमा पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता समेत जनाएको छ।



