स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धि १ दिने अभिमुखिकरण सम्पन्न ।
असार – २
कलैया – मिडिया काउन्सिल मधेस प्रदेश, जनकपुरधाम को आयोजनामा स्वच्छ विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम मंगलबार कलैया उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित सर्वोत्तम होटल मा सम्पन्न भएको छ।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बारा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र सोनल ले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा जनतालाई सही सूचना प्रवाह गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पत्रकारहरूले सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितामार्फत समाजलाई सही दिशा दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सहभागी पत्रकारहरूलाई पत्रकारिता आचारसंहिता, सञ्चार क्षेत्रका चुनौती, डिजिटल युगमा पत्रकारिताको जिम्मेवारी, समाचार लेखनका आधारभूत मान्यता तथा व्यावसायिक पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षक झाले पत्रकारिता पेशालाई मर्यादित, विश्वसनीय र जनमुखी बनाउन आचारसंहिताको पूर्णरूपमा पालना गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले पत्रकारहरूले तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। अफवाह तथा अपुष्ट सूचनाको प्रसारणबाट बच्नुपर्ने तथा सामाजिक सञ्जालको प्रयोग गर्दा समेत पेशागत नैतिकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यवाहक अध्यक्ष बन्दना झा ले मिडिया काउन्सिल मधेस प्रदेशले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा पत्रकारिताको व्यावसायिकता विकासका लागि प्रदेशका विभिन्न जिल्लामा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले पत्रकारितालाई थप जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन सञ्चारकर्मीहरूलाई निरन्तर तालिम तथा अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिता आचारसंहिता, व्यावसायिक नैतिकता तथा वर्तमान सञ्चार क्षेत्रका चुनौतीबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए। यस्ता कार्यक्रमले पत्रकारहरूको ज्ञान, सीप र पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरे।
कार्यक्रमको सञ्चालन मिडिया काउन्सिलका प्रशासकीय अधिकृत ओमबिक्रम कटुवालले गरेका थिए । कार्यक्रममा बारा जिल्लाका सञ्चारकर्मी, सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमले पत्रकारितामा स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्दै जिम्मेवार सञ्चार अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



