
बारा, असोज २५। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय कोल्हवी, बाराको निरीक्षण गर्दै प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन निर्देशन दिएका छन्।

मिति २०८३ असोज २५ गते अपराह्न करिब ५ बजे इलाका प्रहरी कार्यालय कोल्हवी पुग्नुभएका डीआईजी अधिकारीले कार्यालयका विभिन्न शाखाहरूको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई विभागीय नीति, निर्देशन तथा निर्धारित लक्ष्यअनुरूप त्रुटिरहित ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।
उनले प्रहरीले नागरिकलाई प्रदान गर्ने सेवा निःस्वार्थ, निष्पक्ष र पारदर्शी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रहरीको कार्यसम्पादनमा व्यावसायिकता, अनुशासन र जिम्मेवारीबोध कायम राख्नसमेत निर्देशन दिएका थिए।
निरीक्षणसँगै डीआईजी अधिकारीको उपस्थितिमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा उद्योगी–व्यवसायीहरूसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो।
अन्तरक्रियाका क्रममा सवारी दुर्घटना न्यूनीकरण, चोरी नियन्त्रण, लागुऔषधको नियन्त्रण तथा अन्य समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा प्रहरी र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए।
प्रहरी कार्यालयको निरीक्षण तथा सरोकारवालासँगको अन्तरक्रियाले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, स्थानीय सुरक्षा चुनौती पहिचान गर्न र प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


