राष्ट्रियसमाचारस्थानीय

जितपुर सिमरामा सवारीको ठक्करबाट ६५ वर्षीय रामबहादुर थिङको मृत्यु, चालक नियन्त्रणमा

बारा, असोज २५ गते। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित क्विक ट्वान्टी होटल अगाडि हेटौँडा–पथलैया सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–२२ निवासी अन्दाजी ६० देखि ६५ वर्षका रामबहादुर थिङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८३ साल असोज २५ गते बिहान करिब ५ बजे नम्बर नखुलेको सवारी साधनले थिङलाई ठक्कर दिएर फरार भएको सूचना बिहान ५ः३० बजे प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका थिङलाई प्रहरीले आफ्नै सवारी साधनमा तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज, पर्सा पठाएको थियो। अस्पतालमा बिहान ७ः०३ बजे चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा खोजतलासका क्रममा उक्त दुर्घटनामा संलग्न रहेको आशंकामा प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनार रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button