राष्ट्रियसमाचारस्थानीय

कलैयामा यात्रु सहायता कक्ष स्थापना, सुरक्षित र व्यवस्थित यात्रामा जोड

बारा, असोज २५ – यात्रुहरूको सहज, सुरक्षित तथा व्यवस्थित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले बाराको कलैयास्थित भरत चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता, यात्रु सेवा, हाम्रो प्राथमिकता’ भन्ने नाराका साथ आइतबार जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख खडानन्द अधिकारीको प्रमुख आतिथ्यतामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको समन्वयमा स्थापना गरेको उक्त सहायता कक्षमार्फत यात्रुहरूलाई सहज र सुरक्षित यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहायता कक्ष स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, यातायात व्यवसायी संघका पदाधिकारी, सवारी चालक तथा सहचालकलगायतको उपस्थिति रहेको थियो।

यात्रुहरूको यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, यात्राका क्रममा हुन सक्ने समस्या समाधानमा सहजीकरण गर्ने तथा यात्रु र सवारीकर्मीबीच समन्वय कायम गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जनाइएको छ।

यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुहरूले यात्राका क्रममा भोग्नुपर्ने समस्या, गुनासो तथा आवश्यक सहयोगका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको छ। साथै, सवारीसाधन सञ्चालनलाई व्यवस्थित बनाउन र यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्न यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

सुरक्षित तथा व्यवस्थित यातायात सेवा प्रवाहका लागि प्रहरी, प्रशासन र यातायात व्यवसायीबीचको समन्वयलाई प्रभावकारी बनाउँदै यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button