
पर्सा । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमद समीरले शुक्रबार पूर्वाधार विकास कार्यालय पर्साको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री समीरले कार्यालयमा कार्यरत कर्मचारीको अवस्था, सञ्चालनमा रहेका तथा प्रस्तावित विकास योजना र कार्यालयको समग्र कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो।
मन्त्री समीरलाई कर्मचारीको विवरण तथा कार्यालयको प्रशासनिक अवस्थाबारे प्रशासन फाँटका रामप्रवेश यादवले जानकारी गराउनुभएको थियो। त्यसैगरी, कार्यालयअन्तर्गत सञ्चालित तथा कार्यान्वयनको चरणमा रहेका विभिन्न योजनाबारे इन्जिनियर इनरजित महतोले मन्त्री समीरसमक्ष जानकारी प्रस्तुत गर्नुभएको थियो।
अनुगमनका क्रममा कार्यालय प्रमुख राजेशलाल कर्णले मन्त्री समीरलाई फूलमाला तथा दोसल्ला ओढाएर स्वागत एवं सम्मान गर्नुभएको थियो।
सो अवसरमा मन्त्री समीरले कार्यालयका कर्मचारीहरूलाई प्रचलित कानुन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। विकास निर्माणका योजनाहरूको कार्यान्वयनमा गुणस्तर, पारदर्शिता र प्रभावकारितालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
मन्त्री समीरले प्रदेश सरकारले अघि सारेका पूर्वाधार विकासका योजनाहरू समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न कार्यालय तथा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्नसमेत निर्देशन दिनुभयो। अनुगमनको क्रममा स्वकीय सचीव रुतम अन्सारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



