
बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
बारा । बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR05AV 6136 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल चालक बाराको करैयामाई गाउँपालिका–७ निवासी नागेन्द्र चौधरीका छोरा अन्दाजी ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलको पछाडि सवार करैयामाई गाउँपालिका–७ कै बिजेन्द्र चौधरीका छोरा अन्दाजी १६ वर्षीय अन्जित चौधरी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यस्तै, BR05AV 6136 नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड निवासी अन्दाजी ३५ वर्षीय साहेब देवान घाइते भएपछि उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले राति १०ः४० बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक बिमलेश कुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि प्रहरी पोस्ट बसपार्कमा राखेको जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थल मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
मृतक देवानको शव कानुनी प्रक्रिया पूरा गरी शनिबार बिहान ११ बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। पोस्टमार्टमपछि दिउँसो १ः०५ बजे मृतकका मामा नुरुल होदा देवानले शव बुझेर लगेको प्रहरी जानकारी गराएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



