राष्ट्रियसमाचारस्थानीय

सिर्सिया नाकामा ‘सेटिङ’को आरोप : प्रहरी नेतृत्व फेरियो, तर रोकिएन रातको समयमा तस्करी

अलौ नाकाबाट दैनिक लाखौँको सामान भित्रिँदा प्रहरीकै संरक्षणमा अवैध असुली भइरहेको स्थानीयको गम्भीर दाबी

पर्सा । पर्सामा  नेपाल प्रहरीको नेतृत्व फेरिए पनि सीमावर्ती नाकाबाट हुने तस्करीको जालो भने नटुटेको स्थानीयले आरोप लगाएका छन्। अलौ नाकाबाट सिर्सिया प्रहरी चौकीको कार्यक्षेत्रसम्म रातको समयमा ठूलो परिमाणमा अबैध रूपमा भारतबाट भन्सार छली गरि लियाका सामानहरु नेपाल भित्रिने गरेको स्थानीय स्रोतको दाबी रहेको छ । यो आरोप सीमा सुरक्षामा खटिएको प्रहरी संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ। स्थानीय स्रोतका अनुसार भारतबाट नेपालतर्फ हुने अवैध ओसारपसारका लागि रातको समय प्रयोग हुँदै आएको छ। रातिको समयमा  कपडा, दैनिक उपभोग्य खाद्यान्न, हार्डवेयरका पार्टपुर्जा लगायतका सामान दैनिक रूपमा ठूलो परिमाणमा नेपाल भित्रिने गरेको स्रोतले   दाबी गरेको को छ।

अझ गम्भीर आरोप त प्रहरीकै भूमिकामाथि छ। स्थानीय स्रोतका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वले प्रहरी सहायक हवलदार मनिष मगरलाई सादा पोसाकमा परिचालन गरी सीमाक्षेत्र र आईसीपी क्षेत्र सम्म रकम असुल्ने काममा मात्र खटाउने गरेको स्थानीयले  आरोप लगाएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।

तस्करीको बाटो खुला, प्रहरीको भूमिका शंकास्पद ?

सीमावर्ती क्षेत्रमा राति बाक्लो रूपमा सामान ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ। सामान्य अवस्थामा सुरक्षा निकायको नियमित गस्ती र निगरानी रहने क्षेत्रमा नै यस्ता गतिविधि निरन्तर भइरहनुले तस्करी नियन्त्रणमा प्रहरीको प्रभावकारिता वा सम्भावित संरक्षणबारे प्रश्न उठाएको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार तस्करीका सामान बोकेका व्यक्ति तथा सवारीसाधन सीमाक्षेत्रबाट सहजै रूपमा आवतजावत गर्दा प्रहरीको निगरानीमा पर्ने भए पनि उनिहरुलाई समान रूपमा रोकतोक नगर्ने गरिएको आरोप रहेको छ। कतिपय सामान रकम असुलीपछि सहज रूपमा गन्तव्यतर्फ जाने गरेकोसमेत स्थानीयको दाबी रहेको छ। यदि स्थानीयले लगाएको आरोप सत्य हो भने यो सामान्य तस्करीको विषय मात्र नभई राजस्व चुहावट,र सीमा सुरक्षाको कमजोरी र प्रहरी आचरणमाथि गम्भीर प्रश्न खडा गर्ने विषय रहेको हो।

प्रहरी प्रमुख फेरिए, तर ‘रुट’ किन फेरिएन ?

पर्सामा प्रहरी नेतृत्व परिवर्तनसँगै सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर स्थानीयको दाबीअनुसार प्रहरी प्रमुख फेरिए पनि अलौ–सिर्सिया क्षेत्रमा रातिको अवैध ओसारपसारमा उल्लेखनीय कमी आएको छैन।

यसले नयाँ प्रहरी नेतृत्वले सीमाक्षेत्रमा भइरहेको गतिविधिबारे कति प्रभावकारी अनुगमन गरिरहेको छ भन्ने प्रश्नसमेत जन्माएको छ। जिल्लाको मूल नेतृत्वसम्म वास्तविक अवस्था पुगिरहेको छ वा स्थानीय तहमा नै सूचना रोकिएको छ भन्ने विषय पनि छानबिनको दायरामा आउनुपर्ने देखिन्छ।

सादा पोसाकमा प्रहरी किन ?

प्रहरी सहायक हवलदार मनिष मगरलाई सादा पोसाकमा परिचालन गरिएको विषयमा पनि स्थानीयले प्रश्न उठाएका छन्। सादा पोसाकमा प्रहरी परिचालन गर्नु अनुसन्धान तथा विशेष निगरानीका क्रममा सामान्य हुन सक्ने भए पनि त्यसको उद्देश्य तस्करी नियन्त्रण हो कि अवैध रकम असुली  भन्ने प्रश्न स्थानीयले उठाएका छन्।

स्थानीय स्रोतले रकम असुली भइरहेको दाबी गरे पनि त्यसको स्वतन्त्र रूपमा प्रमाण भने सार्वजनिक भइसकेको छैन। त्यसैले सम्बन्धित प्रहरी अधिकारी तथा जिल्ला प्रहरी कार्यालयले यस विषयमा स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ।
सम्बन्धित अधिकारीको जवाफ खोज्दा सम्पर्क भएन
स्थानीयबाट आएको गम्भीर आरोपबारे प्रहरी वरिष्ठ नायब निरीक्षक मानबहादुर जिम्बाको प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर उहाँको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन। समाचार प्रकाशनका क्रममा उठाइएका आरोपबारे सम्बन्धित अधिकारीको धारणा अत्यन्त महत्वपूर्ण हुने भएकाले उहाँको प्रतिक्रिया प्राप्त नभएमा त्यसलाई समेत सम्पर्क भएमा प्रतिक्रियालाई प्राथमिकताका साथ समेटिनेछ।

अब छानबिन कसले गर्ने ?

सीमाक्षेत्रमा तस्करी भइरहेको आरोप मात्र सार्वजनिक हुनु पर्याप्त छैन। आरोप सत्य हो भने संलग्न व्यक्तिमाथि कारबाही र असत्य हो भने आरोप लगाउने स्रोत तथा दाबीको वास्तविकता सार्वजनिक हुनु आवश्यक छ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्बन्धित माथिल्लो प्रहरी निकायले अलौ–सिर्सिया नाकाको रातिको गस्ती, सादा पोसाकमा खटिएका प्रहरीको गतिविधि, सीमाक्षेत्रमा हुने आवतजावत, बरामद भएका सामानको विवरण तथा प्रहरी कर्मचारीको कार्यसम्पादनबारे निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ। स्थानीयले उठाएको प्रश्न अब प्रहरी नेतृत्वको जवाफदेहितासँग जोडिएको छ—प्रहरी प्रमुख फेरिए पनि यदि तस्करीको रुट र कथित ‘सेटिङ’ उस्तै छ भने त्यसको जिम्मेवार को ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button