राष्ट्रियसमाचारस्थानीय

मिर्जापुर नाकाबाट राजस्व छलीको आरोप, प्रहरीले तस्करलाई ‘लाइन’ दिएको स्थानीयको दाबी

पर्सा  – पर्साको पश्चिमी ग्रामीण भेगमा रहेका विभिन्न नाकाबाट दैनिकजसो राजस्व छली गरी अवैध रूपमा तस्करका मालसामान नेपाल तर्फ भित्रिने गरेको स्थानीय स्रोतले दाबी गरेका छन्। विशेषगरी प्रहरी चौकी मिर्जापुरको क्षेत्रअन्तर्गत पर्ने ग्रामीण नाकाबाट रातिको समयमा ठूलो परिमाणमा विभिन्न सामान भारतबाट नेपाल भित्रिने गरेको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार भारतको मैनाटाड तथा इनर्वा बजारबाट भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका कपडा, कुखुरा, हाडवेयरका पार्टपुर्जा, खाद्यान्नलगायतका सामानहरु रातिको समयमा ग्रामीण नाका हुँदै नेपाल भित्र्याउने गरिएको छ। यसरी भन्सार छली गरी ल्याइएका सामान लाखौँ रुपैयाँ बराबरको हुने गरेको स्थानीय स्रोतको दाबी रहेको छ।

स्थानीयले प्रहरी चौकी मिर्जापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विनोद झामाथि तस्करीमा संलग्न समूहसँग आर्थिक लेनदेन गरी रातिको समयमा सामान नेपाल तर्फ  भित्र्याउन ‘लाइन’ दिने गरेको गम्भीर आरोप लगाएका छन्।
स्थानीय स्रोतका अनुसार रातिको समयमा ग्रामीण नाकामा प्रहरीको निगरानी कमजोर बनाउने तथा तस्करीका सामान सहज रूपमा नेपाल प्रवेश गराउने वातावरण मिलाइएको दाबी गरिएको छ। तर, उक्त आरोपको स्वतन्त्र तथा आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ।

स्थानीय उपभोक्तामाथि कडाइ, तस्करीमा सहजता दिएको आरोप

स्थानीयका अनुसार प्रहरीले दोहोरो व्यवहार गरेको आरोपसमेत लगाएका छन्। घरायसी तथा व्यक्तिगत प्रयोजनका लागि दैनिक उपभोगका खाद्यान्नलगायत सामान्य सामग्री भारतबाट ल्याउने स्थानीय नागरिकलाई नाकामा रोकतोक गर्ने, दुःख दिने तथा अनावश्यक झन्झट दिने गरिएको उनीहरूको गुनासो छ।

तर, त्यही नाकाबाट ठूलो परिमाणमा व्यावसायिक प्रयोजनका सामान भन्सार छली गरी ल्याउने समूहलाई भने सहज वातावरण उपलब्ध गराइएको स्थानीयको आरोप छ।
एक स्थानीयका अनुसार, “घरायसी प्रयोजनका लागि थोरै सामान ल्याउँदा सर्वसाधारणलाई कडाइ गरिन्छ, तर रातिको समयमा ठूलो परिमाणमा सामान आउने गरेको देखिन्छ। यस विषयमा सम्बन्धित निकायले गम्भीर रूपमा छानबिन गर्नुपर्छ। स्थानीयले नाकामा हुने भनिएको यस्तो गतिविधिको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।

प्रहरी भन्छ– प्रमाण भए उपलब्ध गराउनुस्

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसँग प्रतिक्रिया लिँदा उहाँले प्रहरीबाट त्यस्तो गतिविधि नहुनुपर्ने बताउनुभयो। डीएसपी मल्लले प्रहरी कर्मचारीमाथि लगाइएको आरोप पुष्टि हुने ठोस प्रमाण भए जिल्ला प्रहरी कार्यालय पर्सामा उपलब्ध गराउन आग्रह गर्नुभयो।
उहाँका अनुसार प्रमाण उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिनेछ। साथै नेपाल प्रहरी संगठन र प्रहरी कर्मचारीको आचरणमाथि प्रश्न उठ्ने गरी गैरकानुनी गतिविधिमा संलग्न भएको प्रमाणित भए सम्बन्धित प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही गरिनेछ। प्रबक्ता मलले भन्ने  त्यस्तो कार्य भएको नहोला। यदि कसैसँग ठोस प्रमाण छ । भने जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउनुस् प्रमाण उपलब्ध गराउने व्यक्तिको नाम गोप्य राखिन्छ। संगठनको मर्यादामा आँच आउने तथा गैरकानुनी काम गर्ने प्रहरी कर्मचारीमाथि कारबाही हुन्छ,” डीएसपी मल्लले भन्नुभयो।

छानबिनबाट मात्रै वास्तविकता बाहिर आउने

पर्साको ग्रामीण नाकामा हुने भनिएको राजस्व छली तथा तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले प्रभावकारी निगरानी बढाउनुपर्ने स्थानीयको माग छ। विशेषगरी रातिको समयमा हुने भनिएको अवैध ओसारपसार नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायबीच समन्वय, नियमित गस्ती तथा नाकामा निगरानी आवश्यक देखिएको छ।

स्थानीयले प्रहरीकै संरक्षणमा तस्करी भइरहेको आरोप लगाएपछि यस विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन भए मात्र आरोप सत्य वा असत्य भन्ने स्पष्ट हुने देखिन्छ। यद्यपि, प्रहरी सहायक निरीक्षक विनोद झामाथि स्थानीयले लगाएको तस्करीमा सहयोग तथा आर्थिक लेनदेनसम्बन्धी आरोप हालसम्म स्वतन्त्र वा आधिकारिक रूपमा पुष्टि भएको छैन। आरोप पुष्टि नभएसम्म सम्बन्धित प्रहरी कर्मचारीलाई दोषी ठहर गर्न नमिल्ने भएकाले छानबिनको निष्कर्ष महत्वपूर्ण हुनेछ।

राजस्व छली तथा अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायमाथि नै यस्तो आरोप लाग्नुले पर्साका ग्रामीण नाकाको सुरक्षा तथा निगरानी व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button