राष्ट्रियसमाचारस्थानीय

संरक्षण नेपाल बाराको २५औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

बारा । संरक्षण नेपाल (PN) बारा शाखाको २५औँ वार्षिक साधारणसभा, रजत जयन्ती तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ। कलैयामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम, उपलब्धि, आर्थिक गतिविधि तथा सामाजिक प्रभावबारे समीक्षा गरिएको थियो।

कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक रालाल चौधरीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार संरक्षण नेपाल बाराले विभिन्न साझेदार संस्थाको सहकार्यमा पोषण, सामुदायिक स्वास्थ्य, वाइफाइ, स्वम टु स्टेडियम, बाल हेल्पलाइन तथा महिला–किशोरीको अधिकारलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको जनाइएको छ।

संस्थाले प्रस्तुत गरेको विवरणअनुसार केयर नेपालको सहकार्यमा रौतहट–५ नगरपालिका क्षेत्रमा पोषण परियोजना सञ्चालन गरिएको छ। त्यस्तै, वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा पनि पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी युनाइटेड मिसन टु नेपालको सहकार्यमा बाराको निजगढ क्षेत्रमा सामुदायिक स्वास्थ्य परियोजना तथा वाइफाइ परियोजना सञ्चालन गरिएको जनाइएको छ। युरोपियन युनियन/प्लान नेपालको सहयोगमा बाराको वडा नम्बर ३ क्षेत्रमा ‘स्विम टु स्टेडियम’ कार्यक्रमसमेत सञ्चालन गरिएको विवरण प्रस्तुत गरिएको थियो।

यसैगरी रा.बा.बैंक/NCRCको सहकार्यमा मधेस प्रदेशमा बाल हेल्पलाइन १०९८ सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ। महिला तथा किशोरीमाथि हुने हिंसा न्यूनीकरण तथा अधिकार संरक्षणका लागि WFLD को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको र बारामा सामुदायिक मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रमबाट समुदायमा परेको प्रभाव, लक्षित वर्गको सहभागिता, कार्यक्रम कार्यान्वयनको अवस्था तथा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

सामाजिक लेखापरीक्षणका क्रममा संस्थाको आय–व्यय, विभिन्न साझेदारबाट प्राप्त सहयोग तथा कार्यक्रम सञ्चालनमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिक गरिएको थियो। संस्थाले आर्थिक पारदर्शिता, जवाफदेहिता र समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सामाजिक लेखापरीक्षणमार्फत आफ्ना गतिविधि सार्वजनिक गर्दै आएको जनाएको छ।

कार्यक्रमको सञ्चालन माधुरी महतोले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रका सरोकारवाला तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। संरक्षण नेपाल बाराले आगामी दिनमा पनि स्थानीय समुदायका आवश्यकता र प्राथमिकताका आधारमा स्वास्थ्य, पोषण, बाल संरक्षण, महिला तथा किशोरीको अधिकार, शिक्षा तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button