राष्ट्रियसमाचारस्थानीय

सुमोको ठक्करबाट युवकको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा –  बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगन्ज सडकखण्डमा सुमोको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका युवकको पहिचान खुलेको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ः१० बजेको समयमा वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले गार्डेन भ्यु रिसोर्ट नजिकै पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो। सुमोको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा राति १०ः३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनापछि प्रहरीले सुमो र चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको थियो।
प्रहरीले सुरुमा मृतकको पहिचान खुल्न नसकेपछि हुलियाका आधारमा आफन्त तथा चिनजानका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको थियो। मृतकको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो रङको पाइन्ट लगाएको तथा उमेर करिब २२/२३ वर्ष रहेको प्रहरीले जनाएको थियो।

यसैबीच, शुक्रबार बिहान करिब ९ बजे मृतकका बुबा प्रसौनी गाउँपालिका–५, प्रसटोका निवासी सुबाश कुमार साह एलएस न्युरो अस्पतालमा पुगेपछि मृतक आफ्नै छोरा १९ वर्षीय अलोक कुमार साह रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको कारण तथा सुमो चालकको भूमिकाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button