
बारा – बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगन्ज सडकखण्डमा सुमोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति आन्दाजी २२ बर्षको पुरुष रहेकोे छ। उनको हालसम्म पहिचान खुल्न सकेको छैन बारा प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ९ः१० बजेको समयमा गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले सडकमा हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
सुमोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएकोमा राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार मृतकको हुलिया अन्दाजी ५ फिट ६ इन्च उचाइ, पातलो शरीर, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र नीलो रङको पाइन्ट लगाएको पुरुष रहेको छ। मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सम्पर्क नम्बरहरू: जिल्ला प्रहरी कार्यालय, बारा:
९८५५०४८१०१
९८५५०४५१०१
९८५५०४५७६६
प्रहरीले मृतकको पहिचान खुलाउन सहयोग गरिदिन तथा पहिचान भएमा नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन बारा प्रहरीले अनुरोध गरेको छ।





