
बारा । महागढीमाई नगरपालिका–२ बरियारपुरमा खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवक घाइते भएका छन्। मिति २०८३ भदौ २५ गते बिहान करिब १०ः३० बजेको समयमा आफ्नै खेतमा पानी लगाउन विद्युत् मोटर सञ्चालन गर्ने क्रममा स्थानीय करिब ३५ वर्षीय साहिल यादवलाई करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा लगिएको थियो। अस्पतालमा उनको अवस्था मध्यम रहेको बताइएको छ। घाइते यादवको उपचारमा उनका भाञ्जा कमलेश प्रसाद यादव सङलन रहेको जनाइएको छ।
घटनाबारे सोही अस्पतालमा खटिएका प्रहरीले दिउँसो करिब २ बजे प्रहरी चौकी बरियारपुर, बारालाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब ५०० मिटर पश्चिमतर्फ रहेको छ। घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।
विद्युत् मोटर तथा तार सञ्चालन गर्दा सावधानी नअपनाउँदा करेन्ट लाग्ने जोखिम हुने भएकाले खेतबारीमा विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।



