
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रा स्थित आर्मी ब्यारेक अगाडि बोलेरो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
सोमबार बिहान करिब ८ः१५ बजे पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको बोलेरो पिकअप आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। डिभाइडर पार गरी सडकको दाहिनेतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पिकअप चालक पर्साको वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुर निवासी वकिल मियाँ अंसारीका करिब २२ वर्षीय छोरा जैमुदिन अंसारी गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अंसारीलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका हुन्। उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, पिकअपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका–९ निवासी सुभान अंसारीका करिब २० वर्षीय छोरा स्वयमभुला अंसारी घाइते भएका छन्। उनको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको पनि एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण सडकमा कुनै अवरोध नरहेको र दुर्घटनामा परेको पिकअप इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।



