राष्ट्रियसमाचारस्थानीय

बाढी प्रभावित क्षेत्रमा व्यापक खोजतलास अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य शाखाले बाढीबाट प्रभावित क्षेत्रमा व्यापक तथा प्रभावकारी खोजतलास अभियान सञ्चालन गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

प्रधान कार्यालयले जारी गरेको ‘अत्यन्त जरुरी आन्तरिक निर्देशन’ मा बाढीका कारण प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी, मृतकको शव तथा शरीरका अंगको पहिचान एवं खोजतलास र हराएका धनमाल तथा कागजातको खोजीलाई प्राथमिकतामा राख्न भनिएको छ।

निर्देशनअनुसार खोजतलास अभियानमा स्थानीय समुदायको समेत सक्रिय सहभागिता गराउनुपर्नेछ। त्यसका लागि युवा, जनप्रतिनिधि, महिला, अन्य सरोकारवाला तथा खोजतलासमा विशेष दक्षता भएका तालिमप्राप्त कुकुरसमेत परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा नदी तथा खोलाका किनार, तटीय क्षेत्र, रुख तथा रुखका हाँगामा अड्किएका सम्भावित स्थान, ओडार, चेप तथा साँघुरा ठाउँ, झाडी तथा झाडीभित्रका क्षेत्र, भत्किएका तथा क्षतिग्रस्त संरचना, बालुवा–गेग्रान तथा माटोका थुप्रा लगायत बाढीको बहावले प्रभावित बनाएका अन्य सम्भावित स्थानमा व्यापक र व्यवस्थित खोजतलास गर्नुपर्नेछ।

खोजतलासका क्रममा जीवित व्यक्ति फेला पार्ने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने तथा त्यसपछि शव वा शरीरका अंगको खोजी र हराएका सम्पत्ति तथा कागजात फेला पार्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइएको छ।

प्रधान कार्यालयले खोजतलास कार्यलाई मानवीय संवेदनशीलता, उच्च व्यावसायिकता, प्रभावकारी समन्वय र पूर्ण जवाफदेहिताका साथ सञ्चालन गर्नसमेत मातहतका प्रहरी निकायलाई निर्देशन दिएको छ।

त्यसैगरी, खोजतलासका क्रममा प्राप्त हुने परिणाम वा उपलब्धिलाई तत्काल सम्बन्धित निकायमा जानकारी गराउन तथा स्पष्ट विवरणसहित जाहेरी/प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण मानिस बेपत्ता हुने, धनमाल क्षति हुने तथा महत्वपूर्ण कागजात हराउने घटना बढ्न सक्ने भएकाले प्रहरीले स्थानीय तह, समुदाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोजतलासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button