
बारा । बाराको सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष निगरानीका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र शस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेपछि गाँजा बोकेर आएका ८/९ जना अपरिचित व्यक्तिहरू गाँजाका पोका धानको खेतमा फालेर फरार भएका छन्।
भदौ २० गते राति करिब १०ः३० बजे समयमा बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीको संयुक्त प्रहरीको टोलीले एम्बुस थापेर निगरानी गरिरहेको थियो। प्रहरी चौकी श्रीनगर बैरियाबाट प्रहरी सहायक निरीक्षक राजेश सिंह तथा बीओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ धान खेतको आली हुँदै केही व्यक्तिहरूको समूहले हिँडिरहेको देखेपछि निगरानी बढाएको थियो।
प्रहरीका अनुसार उनीहरूले पिठ्युँमा झोलाजस्तो बनाएर शंकास्पद सामान बोकेका थिए। संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दै पछ्याएपछि। उनिहरु पिठ्युँमा बोकेर ल्याएको सामान धान खेतमा फालेर फरार भएका थिए। प्रहरीले तत्काल खेतमा खोजतलास गर्दा उनीहरूले छाडेर भागेका ९ वटा गाँजाका पोका फेला पारेको थियो। बरामद गाँजा तौल गर्दा जुटको बोरासहित कुल १५१ किलो रहेको प्रहरीले जनाएको छ। प्रत्येक पोकामा करिब १६.७७ किलोका दरले गाँजा रहेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा राखिएको छ। प्रहरीले गाँजा फालेर भागेका व्यक्तिहरूको पहिचान तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। उनीहरू कुन स्थानबाट गाँजा लिएर आएका थिए, कहाँ लैजाने तयारीमा थिए र यसमा अन्य व्यक्तिहरूको संलग्नता थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रबाट रातको समयमा ठूलो परिमाणमा गाँजा ओसापसार भैइरहेको सूचना पछि। प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउँदै लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। गाँजा बरामद भए पनि ओसारपसारमा संलग्न व्यक्तिहरू भने तत्काल पक्राउ पर्न सकेका छैनन्। फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



