राष्ट्रियसमाचारस्थानीय

टिपरको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बैजुरा पुलमा शनिबार दिउँसो करिब १२ः०१ बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ डुमरवाना निवासी बलबहादुर चौरेलका करिब ५२ वर्षीय छोरा देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका चौरेललाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले इसिजी परीक्षण गर्दा दिउँसो १२ः५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमान्डमा चार जनाको टोली, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा सात जनाको टोली तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमान्डमा चार जनाको टोली खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालकको खोजी भइरहेकोमा प्रहरीले दिउँसो २ः२० बजे टिपर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा बारा, प्रसौनी गाउँपालिका–१ प्रसौनी निवासी झापस हजराका करिब ५८ वर्षीय धुर्वदेव हजरा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button