Uncategorizedराष्ट्रियसमाचारसूचना-प्रविधि

विपद्मामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह।

काठमाडौं –  विपद्, दुर्घटना वा अन्य आपत्कालीन घटनामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा स्वास्थ्य सुरक्षा, सही पहिचान, प्रमाण संरक्षण र परिवारलाई सहयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) को Management of Dead Bodies after Disasters: A Field Manual for First Responders, Second Edition मा आधारित सामग्रीले विपद्पछि शव व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्ड, उपकरण र समन्वयसम्बन्धी विस्तृत व्यवस्था प्रस्तुत गरेको छ।

सामग्रीअनुसार शवसँग प्रत्यक्ष सम्पर्कमा आउने उद्धारकर्मीले पानी नछिर्ने एप्रोन, डिस्पोजेबल ओभरअल, सुरक्षात्मक चस्मा, पञ्जा, रबरको बुट, मास्क, आवश्यकताअनुसार रासायनिक/ग्यास सुरक्षा मास्क तथा प्राथमिक उपचार सामग्री प्रयोग गर्नुपर्ने उल्लेख छ।

त्यस्तै शवको सुरक्षित उद्धार, ओसारपसार तथा भण्डारणका लागि बडी ब्याग, स्ट्रेचर, सेतो कपडा/चादर, जिपर ब्याग, नमुना सुरक्षित राख्ने कन्टेनर, कागजी तथा औद्योगिक फोहोरका झोला, डोरी, फावडा, पिक्याक्स, टेप तथा सञ्चार उपकरण लगायतका सामग्री आवश्यक हुने बताइएको छ।

पहिचान र प्रमाण संरक्षणमा जोड

शव व्यवस्थापनका क्रममा केबल टाइ, बडी ट्याग, इन्डेलिबल मार्कर, पेन तथा पेन्सिल, फ्ल्यासलाइट, ल्यापटप, डिजिटल क्यामेरा, मेमोरी कार्ड, प्रमाणको स्केल, मापन टेप, दृश्यस्थल टेप, प्रमाण चिह्न लगाउने पेग/झण्डा, आवश्यक फाराम, क्लिपबोर्ड, कम्पास, नर्थ एरो र जीपीएस जस्ता अभिलेख तथा घटनास्थल व्यवस्थापनका सामग्री आवश्यक पर्ने उल्लेख गरिएको छ। विपद्पछि शवको खोजी, सुरक्षित संरक्षण, बडी कोड/लेबल, फोटो तथा अभिलेख, उद्धार, प्रमाण संरक्षण र परिवारलाई सुरक्षित हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा सामग्रीले जोड दिएको छ।

मृत शरीरबाट पनि संक्रमणको जोखिम

मृत शरीरबाट रगत, लसिका, दिसा, पिसाब तथा अन्य तरल पदार्थको सम्पर्क, खुला घाउ वा चोट, असुरक्षित सुई तथा धारिलो वस्तु, दूषित माटो वा पानी र केही अवस्थामा किरा तथा जनावरबाट संक्रमणको जोखिम हुन सक्ने उल्लेख गरिएको छ। यसकारण शव व्यवस्थापनमा संलग्न व्यक्तिले हातले अनुहार नछुने, शव वा अवशेषलाई अनावश्यक रूपमा नछुने, शरीरबाट निस्कने तरल पदार्थबाट टाढा रहने, धारिलो वस्तुमा सावधानी अपनाउने र कामपछि साबुनपानीले हात धुने लगायतका सुरक्षा उपाय अपनाउनुपर्ने बताइएको छ।

शव व्यवस्थापनमा हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचआईभी/एड्स, टिटानस, हैजा, टाइफाइड, रेबिज तथा लेप्टोस्पाइरोसिस जस्ता रोगको सम्भावित जोखिमलाई ध्यान दिनुपर्ने सामग्रीमा उल्लेख छ।

स्थानीयदेखि राष्ट्रिय तहसम्म समन्वय आवश्यक

विपद्पछि शव व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय संयोजक तोकेर प्रहरी, सेना, स्थानीय तह, स्वास्थ्य संस्था, उद्धार टोली, फरेन्सिक विशेषज्ञ, धार्मिक अगुवा तथा अन्य सरोकारवालाबीच समन्वय गर्नुपर्ने सुझाव दिइएको छ।
स्थानीय संयोजकले मृतक व्यवस्थापनका लागि अधिकार र जिम्मेवारी लिने, सम्बन्धित निकायसँग समन्वय गर्ने, आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन गर्ने, कामको अनुगमन गर्ने र भएका निर्णय तथा गतिविधिको अभिलेख राख्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख छ।

त्यस्तै प्रदेश तथा राष्ट्रिय तहमा समेत प्रभावकारी समन्वयका लागि उपयुक्त संयोजक तोकी लजिस्टिक सहयोग, मृतकको पहिचान तथा अभिलेख, कानुनी तथा प्रशासनिक प्रक्रिया, सार्वजनिक तथा सञ्चारमाध्यमसँगको सम्पर्क र अन्तर्राष्ट्रिय निकायसँग आवश्यक समन्वय गर्नुपर्ने बताइएको छ।‘मृत शरीरलाई सम्मान, आफ्नो सुरक्षा हाम्रो जिम्मेवारी’
सामग्रीले शव व्यवस्थापनमा संलग्न सबैले PPE को सही प्रयोग, नियमित हात धुने, शरीरको तरल पदार्थबाट टाढा रहने, सुरक्षित रूपमा शव ब्याग प्रयोग गर्ने र प्रयोग भएका PPE तथा फोहोरको उचित व्यवस्थापन गर्ने कुरालाई अनिवार्य सावधानीका रूपमा प्रस्तुत गरेको छ।

पर्याप्त योजना र सुरक्षा व्यवस्था बिना काम सुरु नगर्न, उद्धार गरिएको मृतकलाई बेवास्ता नगर्न, पहिचान प्रक्रिया नबिगार्न तथा परिवारको आवश्यकता र संवेदनशीलतालाई बेवास्ता नगर्नसमेत आग्रह गरिएको छ। समग्रमा सामग्रीको मुख्य सन्देश “मृत शरीरलाई सम्मान, सही पहिचान र परिवारलाई सहयोग” भन्ने रहेको छ। विपद्का बेला मानवीय संवेदनशीलता कायम राख्दै शवको सुरक्षित व्यवस्थापन, प्रमाणको संरक्षण र परिवारलाई सही सूचना तथा सहयोग उपलब्ध गराउनु सम्बन्धित सबै निकायको महत्वपूर्ण जिम्मेवारी हुने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button