सिसहनियामा अधुरा मस्जिद र दलित धर्मशाला विद्यालय भवनबारे मन्त्री समीरको चासो

कलैया । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री महमम्द समीरले कलैया उपमहानगरपालिका–२५ सिसहनिया , ढोडिया,ईनरबारी टोलमा रहेका अधुरा भौतिक संरचनाको निर्माण तथा स्तरोन्नतिका विषयमा स्थानीयवासीसँग छलफल गरेका छन्।
शनिबार बिहान सिसहनिया टोलमा आयोजित जनता भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री समीरले स्थानीयवासीका समस्या, आवश्यकता तथा विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिँदै अधुरो अवस्थामा रहेको मस्जिद तथा दलित धर्मशाला विद्यालयको भवन निर्माणका विषयमा विशेष चासो व्यक्त गरेका हुन्।
छलफलका क्रममा स्थानीयवासीले लामो समयदेखि अधुरो अवस्थामा रहेका संरचनाका कारण समुदायलाई समस्या भइरहेको भन्दै तिनको निर्माण कार्यलाई पूर्णता दिन आवश्यक पहल गरिदिन मन्त्री समीरसमक्ष आग्रह गरेका थिए। उनीहरूले धार्मिक तथा सामाजिक संरचनासँगै शिक्षा क्षेत्रसँग सम्बन्धित भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
स्थानीयवासीका गुनासा तथा माग सुनेपछि मन्त्री समीरले विकास निर्माणका लागि आवश्यक समन्वय तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको बताए।
मन्त्री समीरले विकास निर्माणका कामलाई प्रभावकारी र आवश्यकताका आधारमा अघि बढाउन स्थानीय तहबाट समेत स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखेका थिए। उनले स्थानीयस्तरमा रहेका अधुरा आयोजना तथा संरचनाको अवस्थाबारे जानकारी लिएर सम्भावित समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने बताएका थिए।
कार्यक्रममा कलैया उपमहानगरपालिका–२५ का वडा अध्यक्ष चन्दन पटेल, कार्यपालिका सदस्य लिलाउती देवी ठाकुर तथा नेकपा पार्टीका युवा नेता एवं कलैया नगर कमिटीका सहसचिव रुस्तम अन्सारीलगायतको उपस्थिति रहेको थियो।
जनता भेटघाटका क्रममा स्थानीयवासीले सडक, शिक्षा, धार्मिक तथा सामाजिक पूर्वाधारलगायतका विषयमा आफ्ना समस्या र मागसमेत मन्त्री समीरसमक्ष राखेका थिए। स्थानीयस्तरबाट उठेका समस्या समाधानका लागि प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
मन्त्री समीरको सिसहनिया भ्रमणलाई स्थानीयवासीले विकास निर्माणसँग जोडिएका समस्या प्रत्यक्ष रूपमा सरकारसमक्ष राख्ने अवसरका रूपमा लिएका छन्। अधुरा संरचनालाई पूर्णता दिने विषयमा प्रदेश सरकारबाट आवश्यक पहल हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।



