आर्थिक सहयोग मागेपछि पत्रकार महासंघ बारा विवादमा, निष्पक्षतामाथि प्रश्न।

जेष्ठ – ९
कलैया नेपाल पत्रकार महासंघ बारा शाखाले आफ्नो वार्षिक साधारणसभा सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थासँग आर्थिक सहयोग माग्दै पत्राचार गरेको विषय बाहिरिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। पत्रकारिताजस्तो जनविश्वासमा आधारित संस्थाले प्रत्यक्ष रूपमा आर्थिक सहयोग माग्नु उपयुक्त नभएको भन्दै सञ्चारकर्मी, नागरिक समाज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन्।
सार्वजनिक भएको पत्रमा महासंघ बाराले कार्यक्रम सञ्चालनका लागि आर्थिक अभाव रहेको उल्लेख गर्दै विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिसँग सहयोगको अपेक्षा गरेको देखिन्छ। उक्त पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पत्रकार महासंघको भूमिका, निष्पक्षता र नैतिकतामाथि प्रश्न उठ्न थालेको हो।
आलोचकहरूले पत्रकार महासंघ पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादाको संरक्षण गर्ने संस्था भएकाले आर्थिक सहयोग माग्ने शैलीले संस्थाको विश्वसनीयतामा असर पुग्ने बताएका छन्। उनीहरूका अनुसार व्यवसायी वा विभिन्न निकायबाट सहयोग लिँदा भविष्यमा समाचार सम्प्रेषणको निष्पक्षतामाथि प्रभाव पर्न सक्ने जोखिम बढ्छ।
केही सञ्चारकर्मीहरूले महासंघ नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै संस्थाले सदस्य शुल्क, वैधानिक स्रोत र पारदर्शी व्यवस्थापनमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। प्रत्यक्ष रूपमा सहयोग माग्ने कार्यले पत्रकारिताको साख कमजोर बनाएको उनीहरूको भनाइ छ।
स्थानीय तहमा समेत यस विषयले चर्चा पाएको छ। केही पत्रकारहरूले नाम उल्लेख नगर्ने शर्तमा महासंघले चन्दा संकलनजस्तो शैली अपनाउँदा पत्रकारिताको मर्यादामाथि नकारात्मक असर पर्ने बताएका छन्। उनीहरूले महासंघ नेतृत्वले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमा पनि घटनाप्रति तीव्र प्रतिक्रिया देखिएको छ। धेरै समाजिक संजाल प्रयोगकर्ताले पत्रकार महासंघलाई राजनीतिक प्रभाव र आर्थिक चलखेलबाट टाढा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। केहीले यस्तो गतिविधिले समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका छन्।
महासंघ निकट स्रोतका अनुसार कार्यक्रम व्यवस्थापनमा आर्थिक समस्या आएपछि सहयोगको अपेक्षासहित पत्र पठाइएको भए पनि विषय सार्वजनिक भएपछि नेतृत्वमाथि दबाब बढेको बताइएको छ। यद्यपि, समाचार तयार पार्दासम्म नेपाल पत्रकार महासंघ बारा शाखाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
पत्रकारिता क्षेत्रको विश्वसनीयता, निष्पक्षता र नैतिकता जोगाउनुपर्ने समयमा स्वयं पत्रकारहरूको छाता संगठन विवादमा तानिनुले आत्मसमीक्षा र पारदर्शिताको आवश्यकता थप उजागर गरेको सरोकारवालाहरूको भनाइ छ।



