महिला तथा बालिकाविरुद्ध हिंसा नियन्त्रणका लागि पत्रकारहरूसँग १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न।
कलैया – महिला तथा बालिकाविरुद्ध हुने हिंसाको लागि पालिकास्तरीय नीतिगत पहलसम्बन्धी पत्रकारहरूसँग १ दिने अन्तरक्रिया कार्यक्रम कलैयास्थित बरेवा दरबार होटलमा सम्पन्न भएको छ। उक्त कार्यक्रम फ्रेन्ड्स विदआउट बोर्डर्स/एफडब्लुएलडी (FWLD) को आयोजनामा भएको थियो। कार्यक्रममा पालिकास्तरमा बनेका कानुनको कार्यान्वयन अवस्था तथा हिंसा न्यूनीकरणका चुनौतीबारे छलफल गरिएको थियो।कार्यक्रममा सहभागी न्यु फ्रेन्ड क्लबका प्रतिनिधिहरूले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय तहमा बनेका नीति तथा कानुन कार्यान्वयनमा विभिन्न चुनौतीहरूको बारेमा जानकारी गराएको थियो। वक्ताहरुका अनुसार प्रभावकारी अनुगमन र नियमित मूल्याङ्कनको अभावका कारण कार्यक्रमले अपेक्षा स्वरुप काम गर्न सफल हुन नसकेको जानकारी गराए।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता समीर श्रेष्ठले संविधानले महिला तथा बालबालिकालाई दिएको संरक्षणबारे स्पष्ट पार्दै बालविवाह अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन। उनले कलैया उपमहानगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका देवताल गाउँपालिका सहित पाँच वटा पालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइसकेको जानकारी गराए। उनले यौनजन्य दुर्व्यवहार, मानव बेचबिखन तथा ओसारपसार, बहुविवाहजस्ता अपराध रोकथामका लागि कानुनी तथा सामाजिक पहल आवश्यक रहेको कुरामा जोड दिए।
कलैया उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तपसी प्रसाद चौरसियाले “महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली–२०८२ को नगरसभाबाट पारित भइसकेको जानकारी गराए। उक्त प्रणाली कार्यान्वयनका लागि उपमहानगरपालिकाका १० वटा शाखालाई समेटेर १० वटा समिति गठन गरिएको र सोही समितिमार्फत महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि काम भइरहेको उनले जानकारी गराए। कार्यक्रममा वक्ताहरूले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सञ्चालन भएका कार्यक्रमको प्रभावकारिता मापन गर्ने अनुगमन प्रणाली कमजोर रहेको औँल्याए। अनुगमन नहुँदा कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको उनले बताए।
देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णन्दन राय यादवले न्यु फ्रेन्ड क्लबको सहकार्यमा ऐन निर्माण गरी कार्यान्वयन गरिएको जानकारी दिए। गाउँपालिकाको अध्यक्षको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरी बालबालिकाको हकअधिकार संरक्षणका लागि सक्रिय रूपमा काम भइरहेको उनले बताए। साथै वडास्तरीय बालबालिका अधिकार समिति गठनको तयारीसमेत भइरहेको जानकारी गराए।
उनले न्यायिक समितिमा परेका उजुरीहरू नियमित रूपमा समाधान हुँदै आएको र गाउँपालिकाको अधिकार क्षेत्र बाहिरका उजुरी सम्बन्धित निकायमा पठाउने गरिएको स्पष्ट पारे। यस्तै, करैयामाई गाउँपालिकाले पनि महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए। सहभागीहरूले स्थानीय तहबीच समन्वय, प्रभावकारी अनुगमन तथा समुदायस्तरको सचेतना अभिवृद्धि गरेमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणमा उल्लेखनीय प्रगति गर्न सकिने निष्कर्ष निकालेका हुन।