रिलायन्स सुगर मिलको फोहर पानी रोक्न युवा नेता दुबेको आग्रह।
कलैया – बारा स्थित रिलायन्स सुगर मिलका सञ्चालकहरूलाई युवा नेता उमेश दुबेले सामाजिक सञ्जाल मार्फत कडा आग्रह गरेका छन्। मिलबाट निस्किने फोहर तथा प्रदूषित पानीले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्ने भएकाले त्यसलाई अविलम्ब रोक्नु पर्ने उनको माग छ।
फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका दुबेले रिलायन्स सुगर मिलबाट निस्किएको फोहर पानी ब्राह्मपुरी, बन्जरिया, बेलहिया, गोइँठही, भलुही, मंगढवा र अकवनिया हुँदै त्रिवेणीको दुधौरा नदीमा मिसिने बंगरी नदीलाई गम्भीर रूपमा प्रदूषित बनाएको बताएका छन् ।
फोहर पानीबाट फैलँदै गएको प्रदूषणबारे मिल सञ्चालक र सम्बन्धित निकायहरूलाइ जानकारी हुँदाहुँदै पनि मौन बस्नु अत्यन्तै बिडम्बनापूर्ण रहेको दुबेको भनाइ छ । उनले यथाशीघ्र चिनी मिलबाट निस्किने प्रदूषित पानी नरोके कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। यस विषयमा जिल्ला प्रशासन कार्यालय बारा लगायत सम्पूर्ण सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने अपेक्षा पनि दुबेले व्यक्त गरेका छन् ।