रसुवा गढीको पहिरोमा ज्यान गुमाएका प्रहरी जवान मुन्ना ठाकुरको परिवारलाई नगद सहित बारा प्रहरीले गरे सम्मान।

137
messenger sharing button
धिरेन्द्र तिवारी – कलैया – ७० औं प्रहरी दिवसको अवसरमा गत असार २४ गते रसुवा गढीमा आएको पहिरो सहितको बाढीमा परेर ज्यान गुमाएका बारा फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुरको परिवारलाई बारा प्रहरीले सम्मान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित श्रद्धाञ्जली अपर्ण तथा विशेष कार्यक्रममा स्वर्गीय ठाकुरको श्रीमती गुन्जा ठाकुरलाई दोसल्ला ओढाएर र नगद सहित सम्मान गरिएको छ।

प्रहरी विपद तथा राहत कोषबाट प्राप्त ६ लाख रुपैयाँ बराबरको चेक प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो । साथै, मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त ३५ हजार रुपैयाँ नगद समेत गुन्जा ठाकुरलाई प्रदान गरिएको थियो।

फेटा गाउँपालिका–१ भलुही निवासी प्रहरी जवान ठाकुर गत असार २४ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी क्षेत्रमा आएको बाढीका बेला उद्धार कार्यमा खटिएका क्रममा बेपत्ता भएका थिए ।

 

लामो समय खोजी गर्दा पनि शव फेला नपरेपछि उनका परिवारजनले कुशको शव बनाएर श्रावण २३ गते हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका थिए । प्रहरी दिवसको उक्त कार्यक्रममा शहीद तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उपस्थित अधिकारीहरूले प्रहरी परिवारको योगदान र त्यागको प्रति  उच्च प्रशंसा गरेका गरेका थिए।

 

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्गको अध्यक्षतामा भएको थियो । र संचालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.