बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफरकिने गरे निर्णय।
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेको धारा ८ र ९ का आधारमा भण्डारीको पार्टी सदस्यता नवीकरण हुन नसक्ने भन्दै राजनीतिक पुनः सक्रियतालाई अस्वीकार गर्ने निर्णय सुनाउनुभयो। उहाँको यो धारणा राख्ने क्रममा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका थिए।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकले गणतन्त्रको सम्मान र संविधानको मर्मअनुसार राष्ट्राध्यक्षको भूमिका निर्वाह गरिसकेकालाई दलको नेताको रूपमा स्वीकार गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने तयारी गरेपछि पार्टीभित्र बहस चर्किएको थियो। केन्द्रीय कमिटी बैठकले उक्त विषयलाई टुंग्याएको छ। साथै बैठकले अध्यक्ष ओलीलाई आगामी अधिवेशनबाट पनि पुनः अध्यक्ष बनाउने संकेत दिएको छ। ७० वर्ष उमेर सीमा र दुई कार्यकालको सीमा हटाएर ओलीको पुनः नेतृत्वको बाटो खोलिएको हो। बैठकले यस्ता निर्णयहरू विधान अधिवेशनमार्फत वैधता दिने तयारी गरेको छ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि २६४ केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरूले धारणा राखेका थिए।
अन्ततः बैठकले यी दुवै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गर्दै १५ जना पदाधिकारी र पोलिटब्युरोसहित २५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको ।
